खेल

झापा फाइनलमा प्रवेश

पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब, भारतलाई हराउँदै धरानमा जारी २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा फाइनलमा प्रवेश गरेको छ।

धरान–१६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा कर्साङको चुनौती ३–१ ले पन्छाउँदै झापा उपाधिनजिक पुगेको हो।झापाको जितमा विदेशी खेलाडी यमी, सुशील राई र निसान लिम्बुले एक÷एक गोल गरे।खेलको २२औं मिनेटमा यमीले गोल गरेका थिए।तर, पहिलो हाफको इन्जुरी समयमा कर्साङका हेमराज भुजेलले गोल गर्दै खेल बराबरीमा बनाए।

खेलको ५१औं मिनेटमा झापाका सुशीलले गोल गर्दै खेलमा २–१ को अग्रता दिलाए।यमीको क्रसमा गिल्सन लिम्बुले हेड पास दिँदा उनले जाली चुमाएका थिए।खेलको ८९औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै निसानले झापाको जित निश्चित गरेका थिए।कर्साङका खेलाडी रोशन भुजेलले सुशीललाई डी बक्सभित्र फल गरेपछि रेफ्री नवीन्द्र महर्जनले झापालाई पेनाल्टी मौका दिएका थिए।बुढासुब्बा गोल्डपमा झापाको टोली पहिलो पटक फाइनल पुगेको हो।आयोजकबाहेक यसअघि मोफसलको टोली सहारा क्लब पोखरा मात्र फाइनल खेलको इतिहास छ।आयोजकले पाँच पटक फाइनल खेल्दा सहाराले २०७० को १६औं संस्करणमा फाइनल खेलेको थियो।खेलको म्यान अफ दी म्याच झापाका खेलाडी यमी घोषित भए।उनले नगद १० हजार पनि हात पारे।

प्रतियोगितामा बिहीबार क्यामरुनको एभिनियर क्लब र एन्फा मोरङबीच अन्तिम तथा दोस्रो सेमिफाइनल खेल हुनेछ।

प्रकाशित: १८ फाल्गुन २०७९ ०२:४८ बिहीबार