खेल

खेल सकिएको १५ दिनभित्र लामिछाने काठमाडौं अदालतमा उपस्थित हुनुपर्ने

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिएको हो।

तर,आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुपर्ने सर्वोच्चको आदेशमा भनिएको छ।

यदि उनी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा छोडेको थियो। सो प्रतिबन्धलाई सर्वोच्चले बदर गरिदिएको हो।

उनले २० लाख रुपैयाँ धरौटी राख्नु पर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायम राखेको छ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।  

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।  

आईसीसी विश्वकप लिग टु क्रिकेट खेल्नका लागि नेपाली क्रिकेट टिम शनिबार युएई गएको थियो। तर उच्च अदालत पाटनले विदेश जान रोक लगाएका सन्दिप भने जान पाएका थिएनन्। 

प्रकाशित: १५ फाल्गुन २०७९ १२:२५ सोमबार

क्रिकेटर सन्दीप लामिछाने