खेल

राष्ट्रिय फुटबल टोली घोषणा, पाँच खेलाडीको पुनरागमन

काठमाडौं– स्ट्राइकर विमल घर्तीमगरसँगै ५ जनाले पुनरागमन जनाउँदा दीपक गुरुङले पहिलोपटक राष्ट्रिय टोलीमा मौका पाएका छन्।

मलेसियामा हुने एएफसी सोलिडारिटी कपका लागि मंगलबार २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

माघमा राष्ट्रिय टोलीबाट बंगबन्धु गोल्डकप र फागुनमा १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेयता विमल पहिलोपटक टोलीमा परेका हुन् । मे २९ मा लाओससँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा गर्दा विमल उपचारका लागि बेल्जियममा थिए ।  त्यसबीच मे २५ मै बहिनीको मृत्युका कारण बेल्जियमबाट स्वदेश फर्केयता विमल राष्ट्रिय टोलीमा उपलब्ध थिएनन् ।

बंगलादेशसँग जुलाई १५ र १७ का लागि तय भएको मैत्रीपूर्ण खेलमा पनि विमल टोलीमा थिएनन्। तर बंगलादेशले पछि मैत्रीपूर्ण खेल रद्द गर्‍यो।

लाओससँग विमलसँगै टोलीमा नरहेका गोलकिपर विशाल श्रेष्ठ, रन्जित धिमाल, रन्जन विष्ट र सुमन लामा यसपटक पुनः परेका छन्। बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा घोषणा भएको टोलीमा रहेका जितेन्द्र कार्की, मानबहादुर तामाङ र दिनेश राजवंशी यसपटक अटाएनन्।

एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा नोभेम्बर २ मा सुरु हुने सोलिडारिटी कपका लागि नेपालले ३ गोलकिपर, ८ रक्षक, ६ मिडफिल्डर र ६ स्ट्राइकर समेट्दा लाओसविरुद्ध खेलेका १७ खेलाडी यथावत छन् ।

यथावत रहनेमा किरण चेम्जोङ, विकेश कुथु, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, विराज महर्जन, सुजल श्रेष्ठ, हेमत गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ र अनिल गुरुङ छन् । त्यति बेला टोलीमा रहेका प्रकाश बुढाथोकी, सुनील बल र जगजित श्रेष्ठ यसपटक छैनन् । आर्मीका दीपक पहिलोपटक टोलीमा समेटिएका छन् । जगजित हाल अस्ट्रेलियामा छन् ।

बन्द सत्रमा बोलाइएका ३० मध्ये चोटका कारण प्रकाश र विकास तामाङले अभ्यास छाडेपछि बाँकी २८ बाट अन्तिम २३ छनोट गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्यसमध्ये गोलकिपर एलन न्यौपाने, रक्षकहरू मानबहादुर तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की र मिडफिल्डर सुनील बल टोलीमा पर्न असफल भए । जापानका ग्याटुको कोजीको नेतृत्वमा राजुकाजी शाक्य र उज्ज्वल मानन्धर प्रशिक्षक रहेको प्रशिक्षण टोलीले खेलाडीको अन्तिम छनोट गरेको हो । नेपाली टोली प्रतियोगितामा भाग लिन अक्टोबर ३० मा मलेसिया जानेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल नोभेम्बर ५ मा टिमोर लिस्टे सँग खेल्नेछ । त्यस्तै नेपाल र ब्रुनाईबीच नोभेम्बर ८ मा अर्को प्रतिस्पर्धा हुनेछ । लिग राउन्डपछि समूहका दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । अर्को समूहमा भने ४ टोली छन्। सोलिडारिटी कपको सेमिफाइनल नोभम्बर १२ र फाइनल १५ मा हुनेछ ।

सोलिडारिटी कपका लागि नेपाली टोली

गोलकिपर– विकेश कुथु, किरण लिम्बु, विशाल श्रेष्ठ

रक्षक– रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल

मिडफिल्डर– विशाल राई, रन्जन विष्ट, हेमन्त गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल

फरवार्ड– विमल घर्तीमगर, अनिल गुरुङ, सुमन लामा, नवयुग श्रेष्ठ, भरत खवास ।

प्रकाशित: १० कार्तिक २०७३ ०२:०८ बुधबार

राष्ट्रिय फुटबल टोली घोषणा खेलाडीको पुनरागमन