खेल

जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधि बेनी नगरपालिकालाई

म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको जिल्ला स्तरीय आठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले प्राप्त गरेको छ। जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण,७ रजत र ८ काँस्य पदक जितेको हो।

जिल्ला स्तरीय  प्रतियोगितामा लगातार ३ पटक कप जितेर बेनी नगरले शिल्ड पच गरेको छ। अन्नपूर्ण गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ३ काँस्य जितेर उपविजेता भएको छ भने भने ५ स्वर्ण, ३ रजत र ४ काँस्य सहित मंगला गाउँपालिका तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका सचिवालय प्रमुख विरेन्द्र श्रेष्ठले बताए। 

छात्र भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका र उपविजेता अन्नपूर्ण गाउँपालिका भएको छ भने छात्रातर्फ विजेता मंगला गाउँपालिका र उपविजेता अन्नपूर्ण गाउँपालिका भएको छ। त्यस्तै कवड्डीतर्फ छात्रमा अन्नपूर्ण प्रथम, उपविजेता बेनी नगरपालिका र छात्रातर्फ प्रथम अन्नपूर्ण र द्धितिय मालिका गाउँपालिका भएको छ।

यसैबिच एथलेटिक्स विधामा १४ स्वर्ण, ६ रजत र ५ काँस्य सहित बेनी नगरपालिका प्रथम,४ स्वर्ण ३ रजत र १ काँस्य सहित मंगला द्धितिय  र ३ स्वर्ण, ५ रजत र ६ काँस्य सहित मालिका गाउँपालिका तेस्रो भएको छ। प्रतियोगितामा मंगला गाउँपालिकाकी रिक्जना माझीले ४ वटा स्वर्ण पदक जित्दै प्रतियोगिताकी सवोत्कृष्ट खेलाडी घोषित भएकी छन्।

विजेतालाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पालिकाले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो। 

जिल्ला स्तरीय रनिङशिल्डमा विभिन्न विधामा उत्कृष्ट भएका ८८ जना खेलाडीले फागुन २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागी हुने छन्। प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला स्तरमा छनौट भएका खेलाडीलाई कुनैपनि कमी हुन नदिने खेलकुद विकास समितिका अध्यक्ष केसीले बताए। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य गर्बुजालेखेल र खेलाडीको विकासका लागि सक्दो प्रयास गरेको बताए। उनले स्थानीय, प्रदेश र संघीय सरकारले सबै किसिमका खेलहरुमा लगानी बढाउँदै जानुपर्ने बताए। 

प्रकाशित: १३ फाल्गुन २०७९ १३:४९ शनिबार

म्याग्दी