खेल

डेब्युमै मिराजको ५ विकेट

चित्तागोङ- युवा स्पिनर मेहन्दी हसन मिराजले 'डेब्यु' मै ५ विकेट लिएपछि पहिलो टेस्टको पहिलो दिन इङ्ल्यान्डले ७ विकेट गुमाएर २ सय ५८ रनमात्र बनाउन सकेको छ। १८ वर्षे हसनले ६४ रन खर्चेर इङ्ल्यान्डका पाँच खेलाडीलाई पेवेलियन फर्काए। पाँचपटकको भिडियो रिभ्यु गर्दा पनि जोगिएका मोइन अलीले इङ्ल्यान्डबाट ६८ रन स्कोर बनाए। एकसमय सम्हालिन असम्भव देखिएको टोलीका लागि जोनी बे्रस्टोले अर्धशतक पूरा गरेपछि २ सय रनको स्कोर पार भएको थियो। उनले ५२ रन बनाए। बिहीबारखेल सकिँदा क्रिस वोक्स ३६ र अदिल रसिद ५ रनमा अविजित छन्। 
बायाँहाते स्पिनर सकिब हल हसनले ४६ रन खर्चेर २ विकेट लिए। डेब्युमा ५ विकेट लिने हसन बंगलादेशका सातौं बलर हुन्। 
इङ्ल्यान्ड टोलीलाई स्पिन बलिङ खेल्न कठिन रहेको फेरि एकपटक प्रस्ट भएको छ। कप्तान एलिस्टर कुकले टस जितेर ब्याटिङको निर्णय लिएका थिए। कुकका लागि भने व्यक्तिगत रूपमा यो कीर्तिमानी टेस्ट हो। कुकले इङ्ल्यान्डबाट खेलेको यो१ सय ३४ औं टेस्ट हो। यससँगै टोलीका लागि सबैभन्दा बढी टेस्ट खेल्ने कीर्तिमान उनको नाममा बनेको छ। तर, उनका लागि पहिलो इनिङ भने बिर्सनलायक रह्यो। २६ बलसामना गरेका ओपनर कुक ४ रनमा सकिब अल हसनबाट बोल्ड आउट भए। 
हसनले पहिलो विकेटका रूपमा अर्का ओपनर बेन डुकेट(१४) को विकेट लिएका थिए। लगत्तै अर्को ओभरमा उनले ग्यारी ब्यालेन्स (१) लाई एलबिडब्यु आउट गरे। १३ बलको बीचमा ३ रन जोड्दै इङ्ल्यान्डले महŒवपूर्ण तीन विकेट गुमायो। तीनमध्ये एक कप्तान कुक पनि थिए। २१/३ को अवस्थाबाट जोए रुट र मोइन अलीले इनिङ सम्हाल्ने प्रयास गरेका थिए। यी दुईले पाँचौं विकेटमा ४२ रनको साझेदारी गरे। ४८ बल खेलेका रुटले ५ चौकासहित ४० रन बनाए। रुट हसनकै बलमा सबिर रहमानको हातबाट समातिए। अलीले ब्याटिङमा धैर्यता देखाए। १ सय ७० बल खेलेका उनले ८ चौका र १ छक्कासाथ ६८ रन जोडेका थिए। बेन स्टोक्स १८ रन बनाएर आउट भए। उनीअल हसनको सिकार भएका थिए। ३४ बल खेलेका स्टोक्सले १ छक्का प्रहार गरे।स्टोक्स आउट हुँदा इङ्ल्यान्डले ५ विकेटमा १ सय ६ रन बनाएको थियो। हसनको बलमा सकिबबाट क्याचआउट हुनुअघि बे्रस्टोले ५२ रनको योगदान गरे। १ सय २६ बलमा उनले ८ चौका प्रहार गरे। ब्रेस्टो र अलीले छैटौं विकेटमा ८८ रनको साझेदारी गरेपछि इङ्ल्यान्ड सम्मानजनक स्कोरतर्फ बनेको हो। ब्रेस्टोको विकेट लिँदै हसनले ५ विकेट पुरा गरेका थिए। पहिलो दिन इङ्ल्यान्डविरुद्ध घरेलु टोलीले ८ बलर प्रयोग गरेको थियो। 

प्रकाशित: ५ कार्तिक २०७३ ०३:२२ शुक्रबार

डेब्युमै मिराजको विकेट