खेल

एसिया कप खेल्न पाउनु ठूलो उपलब्धि: कप्तान रुबिना

काठमाडौं– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले एसिया कप खेल्न पाउनुलाई विश्व कप छनोटमा पुगेसरह हुने बताएकी छन्।

हङकङमा यसै साता सम्पन्न महिला विश्वकपको एसिया छनोटमा उपविजेता बनेको नेपाली टोली मंगलबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा रुबिनाले यसो भनेकी हुन्।

एसियाबाट थाइल्यान्ड विश्वकप ग्लोबल छनोटमा पुग्न सफल भएको थियो । छनोटमा सहभागी चारमध्ये नेपाल दोस्रो भएको हो । त्यसमा आयोजक हङकङ र चीनको पनि सहभागिता थियो । छनोटको उपविजेता हुँदै नेपालले अर्को महिना थाइल्यान्डमै हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

छनोटमा नेपालले खेलेका ६ मध्ये ३ खेलमा जित र ३ मा हार बेहोरेको थियो । चीनलाई दुवै खेलमा हराएको नेपाल थाइल्यान्डसँग दुवै खेलमा पराजित भयो । हङकङसँग नेपाल एक खेलमा हार्दा अर्को जितेको थियो । थाइल्यान्ड ५ खेल जित्दै च्याम्पियन बनेको हो ।

कप्तान रुबिनाले एसिया कपका लागि छनोट हुनु ठूलो उपलब्धिको रूपमा व्याख्या गर्दै भनिन्, ‘विश्वकपमा छनोट हुँदा भारत, पाकिस्तान, इङ्ल्यान्ड र अस्ट्रेलियासँग खेल्न पाइन्थ्यो । अब एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग खेल्ने अवसर मिल्नेछ । त्यसैले यो सफलता विश्वकपका लागि छनोट भएसरह नै हो ।’

ग्लोबल छनोटमा पुग्न असफल भए पनि उपविजेता उपाधिसाथ स्वदेश फर्केकोमा गर्व अनुभव गर्दै रुबिनाले भनिन्, ‘महिला टोलीका लागि ९ वर्षपछि उपाधिसहित फर्कन प्रतियोगितामा राम्रो गरेका थियौं भन्ने हो ।’

सन् २०१४ को इन्चोन एसियाडपछि नेपाली महिला टोली पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने क्रममा हङकङ पुगेको थियो ।

नेपालले छनोटमा सुरुआती दुई खेल हारेको हो । त्यसपछि लगातार दुई खेल जित्दै उपाधि दाबेदारसमेत बन्यो । थाइल्यान्डसँग दोस्रो खेलमा पराजित भएपछि भने टोली अघिल्लो चरण पुग्ने सम्भावनाबाट टाढिएको थियो ।

उनले खराब ब्याटिङकै कारण सुरुका दुई खेल हारेको बताइन् । तर टोलीको बलिङ र ब्याटिङ भने उत्कृष्ट रहेको उनको भनाइ थियो ।

उनले एसिया कपका लागि तत्काल तयारी सुरु गर्ने बताइन् । उनले भनिन् ‘एसिया कपका लागि हामीले ५–६ दिनमै तयारी सुरु ग¥यौं भने प्रतिस्पर्धाका लागि राम्रो हुनेछ ।’

नतिजाका लागि तयारी राम्रो हुनुपर्ने उल्लेख गर्दै रुबिनाले भनिन्, ‘साधन र सुविधासहितको राम्रो तयारीले नै हामीले अहिले उत्कृष्ट नतिजा निकालेका थियौं । एसिया कपका लागि पनि त्यस्तै खाले प्रशिक्षण र सुविधा आवश्यक हुन्छ । केही दिनको विश्रामपछि तयारी थाल्न सके राम्रो हुन्छ ।’

छनोटका क्रममा खेलाडी प्राविधिक र शारीरिक रूपमा बलियो भए पनि मानसिक कमजोरी रहेको प्रशिक्षक राजु बस्न्यातको अनुभव थियो । उनले भने, ‘तर हामीले पहिलो खेल जितेपछि अरु टोलीमाथि दबाब बढेको थियो । सहभागी चार टोलीमध्ये हामी उत्कृष्ट रह्यौं ।’

उनले आगामी लक्ष्य प्रस्ट पार्दै भने, ‘अबको हाम्रो लक्ष्य भनेको एसिया कपमा श्रीलंका, बंगलादेश जस्ता टोलीलाई हराउनु हुनेछ ।’

प्रशिक्षण छिट्टै सुरु गर्नुपर्नेमा जोड दिँदै बस्न्यातले वैदेशिक प्रशिक्षणको व्यवस्था गरे टोलीका लागि राम्रो हुने बताए।

प्रकाशित: ३ कार्तिक २०७३ ०२:५६ बुधबार

एसिया कप खेल्न पाउनु उपलब्धि कप्तान रुबिना