खेल

नेपालको पहिलो खेल टिमोर लिस्टेसँग

काठमाडौं- नेपालले कात्तिकको तेस्रो साता टिमोर लिस्टेसँग खेल्दै एसियाली फुटबल महासंघ (एएफसी) ले यसै वर्षबाट सुरु गर्न लागेको एएफसी सोलिडारिटी कपमा यात्रा थाल्नेछ। ७ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालसहित समूह 'ए' मा ब्रुनाई दारेसलाम र टिमोर लिस्टे छन्। दक्षिण एसियाको अर्को टोली श्रीलंका समुह 'बी' मा मकाउ, मंगोलिया र लाओससँग परेको छ। लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगितामा दुवै समुहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। यसअर्थमा तीनमात्र टोली रहेको समुहमा पर्नु नेपालका लागि फाइदाजनक हुन सक्छ।

कात्तिक १७ देखि ३० गतेसम्म मलेसियामा चल्ने प्रतियोगितामा २० गते नेपालले टिमोर लिस्टेसँग खेल्नेछ। समुह चरणको दोस्रो खेलमा नेपालले दुई दिनपछि ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा सहभागि ७ मध्ये लाओस फिफा वरियतामा सबैभन्दा माथि छ। लाओस १ सय ७३ औं स्थानमा छ भने त्यसपछि टिमोर लिस्टे १ सय ८१ औं स्थानमा छ। नेपाल १ सय ८३ औं स्थानमा छ। नेपालले पाँच वर्ष अघि टिमोर लिस्टेलाई दुई लेगको विश्वकप छनोटमा पराजित गरेको थियो। २०१४ को विश्वकपका लागि काठमाडौंमा भएको छनोटमा नेपालले पहिलो खेल २–१ को नतिजामा जितेको थियो भने दोस्रो खेल ५–० ले पक्षमा पारेको थियो। त्यसयता दुई टोलीबीच पहिलो पटक भेट हुन लागेको हो। ब्रुनाईसँग पछिल्लो पटक २००६ को च्यालेन्ज कपको पहिलो संस्करणमा खेल्दा नेपाल २–१ ले पराजित भएको थियो।

९ टोलीको सहभागितामा हुन तय भएको प्रतियोगितामा पाकिस्तान र बंगलादेशले भाग नलिएपछि टिम संख्या घटेको हो।

यसैबीच, राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु दशै विदा सकेर आइतबारबाट अभ्यासमा फर्किएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही दिनमा खेलाडीको अन्तिम छनोट गर्ने जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७३ ०३:४८ सोमबार

नेपालको पहिलो खेल टिमोर लिस्टेसँग