खेल

रियलसँग घरेलु मैदानमै लिभरपुलको लज्जास्पद हार

युइएफए च्याम्पियन्स लिग फूटबल अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ।

गए राति एन्फिल्डमा भएको खेलमा घरेलु टोली रियल म्याड्रीडसँग ५-२ गोल अन्तरले पराजित भएको हो। दुई गोलले पछि परेको अवस्थामा पाहुना टोलीले पुनरागमन जित निकाल्दै घरेलु टोलीलाई लज्जास्पद हार चखाएको हो।  

रियलको जितमा करिम बेन्जिमा,भिनिसियस जुनियरले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे। लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले समान एक गोल गरे।  

घरेलु मैदानमा खेलको चौथो मिनेटमा नै डार्विनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता बनाए। उनले सलाहको असिस्टमा गोल गरेका हुन्। त्यस्तै १४ औं मिनेमा रियलका गोलरक्षक थिवाउट कोर्टुवाको गम्भीर गल्तीको फाइदा उठाउँदै सलाहले लिभरपुलका लागि दोब्बर अग्रता बनाए। तर त्यसको सात मिनेटपछि भिनिसियसले पेनाल्टीबक्सभित्रबाट सुन्दर गोल गर्दै खेललाई २-१ मा ल्याए। उनले कप्तान बेन्जिमाको पासमा गोल गरेका हुन्। खेलको ३६ औं मिनेटमा उनै भिनिसियसले गोल गर्दै खेललाई २-२ मा ल्याउन सफल भए। जोसेफ गोमेजको पासलाई लिभरपुलका गोलरक्षक  एलिसन बेकरले गरेको क्लियरेन्स भिनिसियसलाई लाग्दै गोलमा परिणत भएको थियो।

४७ औं मिनेटमा मिडफिल्डर लुका मोड्रीचको फ्रीकिक्लाई मिलिसाओले हेडर गोल गर्दै रियलले खेललाई अग्रता बनाए। ५५ औं मिनेटमा बेन्जिमाले रोड्रीगोको पासमा गोल गर्दै रियललाई ४-२ ले अघि बढाए। उनै बेन्जिमाले ६७ औं मिनेमा व्यक्तिगत दोश्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै रियलले लिभरपुललाई नमिठो हार चखाए। जितसँगै रियलले क्वाटरफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७९ ००:२७ बुधबार

च्याम्पियनसिप लिग फूटबल