खेल

भक्तपुर कप फुटबल: आयोजक र केदारनाथ सेमिफाइनलमा

भक्तपुर युवा टीम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट आयोजक भक्तपुर युवा टीम र केदारनाथ सुटर्स सेमीफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्।

आयोजक भक्तपुर युवा टीम र सूर्यविनायक नगरपालिकाबीच मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा भक्तपुर युवा टीमले सूर्यविनायक नगरपालिकालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको हो।  

खेलबाट भक्तपुर युवा टीमका जर्सी नम्बर ९ का विनय खायमली उदयीमान खेलाडी घोषित भए भने भक्तपुर युवा टीमकै जर्सी नम्बर १७ का विक्रान्त नरसिंह राना उत्कृष्ट खेलाडी घोषित भए।

त्यस्तै मंगलबार नै केदारनाथ सुटर्स र हेल्दी फुटसलबीच भएको दोस्रो क्वाटरफाइनल खेलमा केदारनाथ सुटर्सले हेल्दी फुटसललाई १–० ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको छ। खेलबाट केदारनाथ सुटर्सका सनिश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने हेल्दी फुटसलका जिन्लप तामाङ उदयीमान खेलाडी घोषित भएका छन्।

क्वाटरफाइनलको बाँकी दुई खेल बुधबार खेलाइने छ। जसअनुसार द हिलिङ एफसी र बनेपा ब्वाइजबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी युथ क्लब र गोदावरी एफसीबीच हुने छ। त्यस्तै प्रतियोगिताको सेमिफाइनलका खेलहरू फागुन ११ गते बिहीबार खेलाइने जनकारी टीम कमिशनर अनिल सुकुपायोले दिए।

प्रकाशित: ९ फाल्गुन २०७९ १३:०८ मंगलबार

भक्तपुर कप फुटबल