खेल

सन्तोषीलाई बिदाइ

अफ्रिकी राष्ट्र इथोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धाविका सन्तोषी श्रेष्ठ आइतबार प्रस्थान गर्दै छिन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषीलाई आइतबार बिदाइ गरिएको हो। इथोपिया जान लागेकी सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) को महासचिव तथा एनआरएस स्पोटर्स फाउन्डेसनका फाउन्डर नीलेन्द्रराज श्रेष्ठ, प्रशिक्षक रघु वन्तले एक कार्यक्रमका बीच बिदाइ गरे।

ग्लोबल स्पोटर्स कम्युनिकेसनको छात्रवृत्ति, एनआरएनए स्पोटर्स फाउन्डेसनको पहलमा सन्तोषीले इथोपियामा प्रशिक्षणको अवसर पाएकी हुन्। सन्तोषी इयर्ली ट्रस्टको आर्थिक सहयोग र ग्लोबल स्पोर्ट्स एथलेटिक्स खेलाडीको व्यवस्थापनमा प्रशिक्षणमा जान लागेकी हुन्। सन्तोषीले विश्व च्यापियन तथा ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई प्रशिक्षण दिइसकेका मुख्य प्रशिक्षक टेसेमा अब्सहिरोसँग प्रशिक्षण लिनेछन्। अब्सहिरोको प्रशिक्षण टोलीमा प्रशिक्षकद्वय टेस्हे गेमेचु र यालेमजेर्फ येहुअलाव रहेका छन्। सन्तोषी मार्च २२ मा इथोपियाबाट नेदरल्यान्ड्स जानेछिन।

नेदरल्यान्ड्समा सन्तोषीको मेडिकल परिक्षण र प्रशिक्षण हुनेछ। नेदरल्यान्ड्सपछि सन्तोषी बेलायतको लन्डन जाने र लन्डनमा प्रशिक्षण र केही प्रतियोगितामा सहभागिता जनाउने प्रशिक्षक वन्तले जानकारी दिए।

बिदाइपछि सन्तोषीले आफू भाग्यले ग्लोबल स्पोर्ट्ससँग आबद्ध भएको बताउँदै इथोपियाको प्रशिक्षणले चीनमा आयोजना हुने एसियन गेम्समा आफ्नो प्रदर्शनमा सुधार हुनेमा विश्वास व्यक्त गरिन्।

यस्तै राखेप सदस्यसचिव घिसिङले सन्तोषीको प्रशिक्षणमा राखेपले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमकै बीच सन्तोषीलाई नेपाल भेटनरी एसोसिएसनले ५० हजार नगद आर्थिक सहयोग गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०७९ ०१:२७ सोमबार

नेपाल भेटनरी एसोसिएसनले ५० हजार नगद आर्थिक सहयोग