खेल

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फागुन १३ देखि हुने

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताबारे जानकारी दिदै आयोजक। तस्बिर: रोहित राई

आर्थिक संकटको कारण विगत दुई वर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण फागुन १३ गतेदेखि आयोजना हुने भएको छ।

आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै धरान १६ स्थित रंगशालामा फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो। कोभिड महामारीसँगै भएको आर्थिक संकटको कारण विगत २ वर्ष प्रतियोगिता गर्न नसकेको क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले जानकारी दिए। २०५५ सालदेखि शुरु भएको गोल्डकप पहिलो पटक कोभिड महामारीको कारण विगत २ वर्ष रोकिएको हो।

क्लबले २२ औं सँस्करणको विजेता मनाङ मस्र्याङ्दी र उपविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार रकम नदिएको भन्दै चर्को आलोचना पनि खेप्नुपरेको थियो। कोषाध्यक्ष बुढाथोकीले दुवै क्लबलाई पुरस्कार रकम दिइसकेको जानकारी दिए। ‘पुरस्कारको बिषयमा धेरै कुरा उठ्यो। कोभिड महामारीको कारण प्रदेश सरकार र राखेपबाट आउने बजेट पनि रोकिएपछि दिन सकेको थिएनौं,’उनले भने,‘तर २३ औं सँस्करण अघि दिन्छौं भनेका थियौं, हामीले दुवै क्लबलाई पुरस्कार रकम दिइसकेका छौं।’

प्रतियोगितामा वंगलादेश, क्यामरुनसहितका ८ वटा क्लबहरु सहभागीता जनाउने पनि आयोजकले जानकारी दिएको छ। केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी रहने महासचिव प्रताम तामाङले जानकारी दिए। नेपालको ए भिडिजन क्लबहरु सहभागी नभए पनि राष्ट्रिय लिग खेल्ने खेलाडीहरु सहभागी टिम भएकोले प्रतियोगिता रोमाञ्चक हुने उनले दाबी गरे।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछन् भने उपविजेताले नगद ५ लाख पाउनेछन्। साथै, यसपाली उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ। विगतमा भने मोटरसाइकल दिदै आएको थियो। प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइने कोषाध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइनेछ।

क्लबका अध्यक्ष किशोर राईले प्रतिकुल परिस्थिति सृर्जना हुँदा २ वर्ष प्रतियोगिता गर्न नसकेको भन्दै यसपाली भव्यरुपमा सम्पन्न गर्ने बताए। ‘यसपाली मुनाफा हुने गरि प्रतियोगिता गर्ने रणनीति बनाएका छौं। तर खेलकुदमा राज्यले अभिभावकत्व लिनुपर्यो। स्थानीय सरकार, प्रदेश सरकारको खेलकुदको योजना खै? लगानी कहाँ भएको छ?’ उनले भने,‘सधै मागेर गर्न त सकिदैन।’

प्रतियोगिताको लागी बजेट रकमान्तर गरेर ३ लाख थप गरेको र मेयर कोषबाट थप ३ लाख दिने प्रतिवद्धता जनाएको भन्दै उनले मेयर हर्क साम्पाङसहित कार्यपालिका सदस्य, वडाअध्यक्षहरुलाई पनि धन्यवाद दिए। धरानको २० वटा वडा कार्यालयहरुबाट पनि २० लाख सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनले बताए। अध्यक्ष राईले आफू १२ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेको र फुटबलप्रतिको मायाकै कारण पनि क्लब र खेलकुद छोड्न नसकेको बताए। ‘तर यसपाली राम्रोसँग प्रतियोगिता सक्छौं, र क्लबमा पनि राम्रो नेतृत्वलाई हस्तान्तरण गर्छु,’उनले भने।

प्रतियोगिताको लागी यसपाली विभिन्न निकाय, संघसंस्था तथा दाताहरुबाटसमेत गरेर १ करोड ९ लाख ५० हजार आय हुने अनुमान क्लबको रहेको छ। त्यसमध्ये ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको उनले बताए।  

प्रकाशित: ७ फाल्गुन २०७९ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App