खेल

पुष्पलाल स्मृति ब्याडमिन्टन: फाइनलमा प्रिन्स, प्रफुल, अनुमाया र जेशिका

विराटनगरमा जारी १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहाल, प्रफुल महर्जन, जेशिका गुरुङ र अनुमाया राईले फाइनल यात्रा पक्का गरेका छन्।  

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलतर्फ नेपाल पुलिसका प्रिन्स दाहालले त्रिभूवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाइनलमा पुगे। उपाधिका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसँग खेल्ने छन्। प्रफुलले पुलिसका विष्णु कटुवाललाई २१–१८, २१–७ ले पराजित गरे। गत साता मात्रै इटहरी सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय वरियता ब्याडमिन्टनमा प्रिन्सले प्रफुललाई पराजित गरेका थिए।  

त्यस्तै, महिला शीर्ष १२ वरियताभित्रको एकलतर्फ पुनः एपिएफकी जेशिका गुरुङले राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई पराजित गर्दै फाइनलमा पुगिन्। जेशिकाले आर्मीकी रसिलालाई १४–२१, २१–१६, २१–१२ ले पराजित गरिन्। गत साता इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामासमेत जेशिकाले रसिलालाई हराउँदै उपाधि जितेकी थिइन्।  आर्मीकी अनुमाया राईले आर्मीकै प्राथना देउवालाई २१–१२, २१–११ ले हराउँदै फाइनलमा प्रवेश गरिन्।  

त्यसैगरी, पुरुषको शीर्ष १६ वरियतादेखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेप र एपिएफका सुजन थापा फाइनलमा पुगे। पविनले आर्मीकै हिमाल चन्दलाई २१–१९, १३–२१, २१–१९ ले पराजित गरे भने थापाले एपिएफकै प्रनिश सिंह ठकुरीलाई २१–१८, १७–२१, २१–६ ले हराए।  

महिला शीर्ष १२ देखि बाहेकको एकलतर्फको खेलमा आर्मीकी बिष्णा विष्टले पाँचथरकी रिना तामाङलाई २१–१५, २१–१३ ले हराउँदै फाइनलमा पुगिन्। उपाधिका लागि बिष्णाले झापाकी अञ्जना राईसँग खेल्ने छिन्। राईले आर्मीकी टिशा रानी शाक्यलाई २१–६, २१–१३ ले पराजित गरिन्।    

यस्तै, पुरुष यु १७ तर्फ एपिएफका रोशन साउद र आर्मीका अनिल मल्ल उपाधि जितका लागि खेल्ने छन्। रोशनले आर्मीका कविर केसीलाई २१–१३, १९–२१, २१–१५ ले तथा मल्लले दाङका सनौला रैनीलाई २१–१५, २१–१५ ले पराजित गरे। महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले कास्कीकी निभा राईलाई २१–१४, २१–१३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । आर्मीकी टिशा रानी शाक्यले ताप्लेजुङकी नुमा लिम्बूलाई २१–१९, २१–११ ले पराजित गर्दै फाइनलमा उपाधिका लागि आर्मीकी रिहानासँग खेल्ने छिन्।  

यसैगरी, पुरुष युगलतर्फ एपिएफका विजित थापा मगर र पुलिसका जीवन आचार्यको जोडी फाइनल प्रवेश गरे। मगर र आचार्यको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १५–२१, २१–१९, २१–१३ ले पराजित गर्दै उपाधिका लागि पुलिसका विष्णु कटुवाल र प्रिन्स दाहालसँग भेट पक्का गरे। कटुवाल र दाहालको जोडीले कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीलाई २१–१०, २१–१८ ले पराजित गरे।  

महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी नीता लम्सालको जोडी फाइनल प्रवेश गरे । आर्मीकी रसिला महर्जन र अमिता गिरीको जोडी तथा आर्मीकी बिष्णा विष्ट र कैलालीकी निलिमा महराको टिम खेल खेल्न असमर्थ भए पश्चात शोभा र नीताले स्वतः फाइनल यात्रा तय गरे। अमिता गिरी र निलिमा महराको खुट्टामा चोट भएपछि  खेल नसकेका हुन्।  

महिला एकलतर्फकै अर्को खेलमा आर्मीका प्राथना देउवा र अनुमाया राईको जोडी फाइनल प्रवेश गरे। देउवा र राईको जोडीले एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै फाइनलमा पुगे।  

पुरुष ४५ वर्षमाथिको प्रतिष्पर्धामा काठमाडौंका संजय कपाली र श्याम लामाको जोडीले सुनसरीका भजनलाल चौधरी र इटहरीका सन्त तामाङलाई २१–१५, २१–१५ तथा कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेले बेलबारीका दीपक आङ्दम्बे र मोरङका विकास श्रेष्ठको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै फाइनल प्रवेश गरे।

पुरुष ५५ वर्षमाथिको प्रतिष्पर्धामा पाँचथरका रामराज आङ्दम्बे र संजय भक्तराजको जोडी फाइनलमा प्रवेश गरे। राम र संजयको जोडीले बिबिसीका केशव कार्की र आरके सिंहको जोडीलाई २१–१९, २१–११ ले पराजित गरे। अर्को खेलमा कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीले सुनसरीका गणेश राई र भोजपुरका दानबहादुर तामाङको जोडीलाई २१–१५, १०–२१, २३–२१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे।

प्रकाशित: ६ फाल्गुन २०७९ १२:५१ शनिबार

१२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन