खेल

एनआरटी शीर्ष डिभिजन नजिक

काठमाडौं- न्युरोड टिम (एनआरटी)ले आइतबार सहिद स्मारक ‘बी’ डिभिजनमा टुसाल युथ क्लबलाई ४–० ले पराजित गर्दै शीर्ष डिभिजनमा बढुवा हुने सम्भावना बलियो बनाएको छ। मंगलबार हल्चोकमा सातदोबाटो युथ क्लबसँग बराबरी नतिजामात्र निकाले पनि एनआरटीको ‘ए’ डिभिजनमा पुनरागमन पक्का हुनेछ। लिगमा अन्तिम १ खेल बाँकी रहँदा एनआरटी २५ अंकका साथ शिर्ष स्थानमा छ। समान २५ अंक जोडेको च्यासल युथ क्लब दोस्रो स्थानमा छ। हेड टु हेड प्रणालीअनुसार च्यासल शीर्ष डिभिजनमा बढुवा भइसकेको छ। सातदोबाटो २२ अंकका साथ तेस्रो स्थानमा छ। हारपछि टुसाल १३ अंकका साथ ११ औं स्थानमा छ। टुसालले अन्तिम खेलमा बाँसबारी क्लबसँग खेल्नेछ।

सातदोबाटो स्थित एन्फा मुख्यालयमा भएको पहिलो खेलमा सुशील लामाले तेस्रो मिनेटमा गरेको गोलबाट एनआरटीले अग्रता लिएको थियो। ३७ औं मिनेटमा अशोक थापाले अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको एनआरटीले दोस्रो हाफमा २ गोल थपेको थियो। ५४ औं मिनेटमा प्रविन कुमार सैंजुले तेस्रो गरे भने प्रदीप गुरुङले खेल सकिन ५ मिनेट बाँकी रहदाँ अर्को गोल थपेका थिए। जितपछि एनआरटीका सहायक प्रशिक्षक श्याम मालीले युवा खेलाडीले कडा मिहिनेत गरेको बताए।

‘युवा र अनुभवी खेलाडीको संयोजन थियो। आजको जित कडा मिहिनेतको फल हो,’ सहायक प्रशिक्षक मालीले भने, ‘शुरुबाटै हाम्रो लक्ष्य 'ए' डिभिजन उक्लिनु थियो। सातदोबाटोलाई हराएर माथि उक्लिनेमा म विश्वस्त छु।’

एन्फामै भएको दोस्रो खेलमा बाँसबारी क्लबले पुल्चोक स्पोर्टस क्लबमाथि ३–१ को विजय हासिल गर्‍यो। बाँसबारीले तेस्रो मिनेटमा विनोद गुरुङको गोलबाट अग्रता लिएको थियो। विवेक गुरुङले १५ औं मिनेटमा अग्रता दोब्बर पारे। पुल्चोकका कमल थापाले ३३औं मिनेटमा गोल गर्दै अन्तर कम गर्ने प्रयास गरेका थिए। तर ३७ औं मिनेटमा बाँसबारीका लागि विनोदले अर्को थपे।

पुल्चोकको अन्तिम खेल श्रीकुमारी क्लबसँग थियो। तर श्रीकुमारीलाई एन्फाले २ वर्ष कुनै पनि फुटबल गतिविधीमा सहभागी हुन नपाउने गरि प्रतिबन्ध लागएपछि पुल्चोकले स्वत ३ अंक पाएको छ। श्रीकुमारीको अर्को खेल ब्वाइज युनियनसँग थियो। ब्वाइज युनियन र पुल्चोक दुवैलाई ३–० को जितसहित ३ अंक दिइएको हो। ब्वाइज युनियनले अन्तिम खेल टुसालसँग खेल्नेछ। पुल्चोक २० अंकका साथ सातौ स्थानमा छ। १२ खेलबाट १७ अंक बटुलेको ब्वाइज युनियन आठौं स्थानमा छ।

प्रकाशित: १७ आश्विन २०७३ ०४:३० सोमबार

एनआरटी शीर्ष डिभिजन नजिक