रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा इल्चेविरुद्ध फराकिलो जित निकाल्दै शीर्षस्थानको बार्सिलोनासँग अंक दूरी घटाएको छ।
गए राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोल अन्तरले हराएको हो। रियलको जितमा करिम बेन्जिमाले दुई गोल, मार्को एसेन्सियो र लुका मोड्रिचले एकएक गोल गरे।
खेलको आठौं मिनेटमा एसेन्सियोले रियललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले कार्भाजलको पासमा गोल गरेका थिए। ३१ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई दोब्बर अग्रता बनाए।
पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गरे। पहिलो हाफमा रियल ३-० गोलले अघि रह्यो। त्यसपछि खेलको ८० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ४-० ले जित दिलाए। जितसँगै रियलले २१ खेलमा ४८ अंक जोडेको छ। बार्सिलोनाको ५६ अंक रहेको छ।
प्रकाशित: ४ फाल्गुन २०७९ ०२:२७ बिहीबार