खेल

बाँसबारीसँग एनअारटी स्तब्ध

काठमाडौं– एनआरटीसहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबसँग पराजित भएको दिन आइतबार आरसिटीले डिभाइन ब्वाइज युनियनमाथि ३–० को जित निकाल्दै दोस्रो स्थानमा पकड राखेको छ ।
सामाजिक युथ क्लबसँग १–१ को बराबरी खेले पनि श्रीकुमारी क्लब शीर्ष स्थानमा कायम छ । दसौं चरणसकिँदा श्रीकुमारीसँग २१ अंकछ । आरसिटीको खातामा २० अंक छ । १९ अंकसाथ एनआरटी तेस्रो स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्रीकुमारीले बारबरी खेलेपछि एनआरटीलाई शीर्ष स्थानमा उक्लने मौका थियो तर टोलीलेसदुपयोग गर्न सकेन ।

विवादास्पद खेलमा एनआरटी बाँसबारीसँग ३–२ ले पराजित भयो । विवेक गुरुङको गोलमा बाँसबारीले दोस्रो मिनेटमै अग्रता लिएको हो । उनले एनआरटीका गोलकिपर र रक्षकबीच समन्वय नहुँदाको फाइदा लिँदै गोल गरेका थिए । एनआरटीका सुशील लामाले ३७ औं मिनेटमा बराबरी गोल फर्काए भने लगत्तै वीरेन्द्र थापाले अग्रता दिलाए ।

२–१ को अग्रता लिए पनि एनआरटीले दोस्रो हाफ दबाबमा खेलेको थियो । दोस्रो सुरुहुने बित्तिकै एनआरटी खेलाडीको ह्यान्ड भएको र पेनाल्टी नदिएको भन्दै बाँसबारीले विरोध गरेपछि खेल रोकिएको थियो । १० मिनेटपछि सुचारु भयो । बाँसबारीका शिखर उप्रेतीले अन्तिम समयमा बराबरी गोल फर्काए । समय सकिनै लाग्दा एनआरटीका राजकुमार घिसिङले पेनाल्टी बक्स नजिकै फाउल गरेपछि दोस्रो पहेँलो कार्ड पाए ।
बाँसबारीले फ्रिकिक हान्न लाग्दा एनआरटीका अफिसियलले धेरै समय खेलाएको भन्दै विरोध गरेपछि पुनः खेल रोकियो । करिब १५ मिनेटको विवादपछि पुनः खेल सुरु भएको थियो । एरिक विष्टले फ्रिकिकमा गोल गर्दै बाँसबारीको ३ अंक पक्का गरे ।खेल सकिएपछि एनआरटीका पदाधिकारी एन्फा अफिसियलमाथि खनिएका थिए ।

प्रज्वल थापामगरले अन्तिम मिनेटमा गरेको गोलमा श्रीकुमारी अंक बाँड्न सफल भयो । त्यसअघि भुवन बस्नेतले ७८ औं मिनेटमा गरेको गोलमा सामाजिकले अग्रता लिएको हो ।  जारी लिगमा भुवनको यो सातौं गोल हो । भुवनसँगै श्रीकुमारी टंकबहादुर सिङ्दान धेरै गोल गर्नेमा अगाडि छन् ।

तेस्रो खेलमा आरसिटीको जितमा विके तामाङले ४० र ८० औं मिनेटमा गोल गरे भने शिखर लिम्बुले ७१ औं मिनेटमा गोल गरेका थिए ।
 

प्रकाशित: १० आश्विन २०७३ ०५:२५ सोमबार

बाँसबारीसँग एनअारटी स्तब्ध