खेल

नेपाली महिला राष्ट्रिय टोलीको बिदाई

मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ।

ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाई गरेका हुन्। २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछ। गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

बिदाई पछि बोल्दै नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भएपनि टोलीले सुखद् नतिजा निकाल्ने बताए। दुई साताको अभ्यासमा राम्रो टोली तयार भएको र साफमा भारतलाई हराएकोले खेलाडीमा मनोबल उच्च रहेको प्रशिक्षक थापाले बताए। भारत दक्षिण एशियाको बलियो टोली भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रीपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद् नतिजा रहेको प्रशिक्षक थापाले बताए।

यस्तै कप्तान एञ्जिालाले साफपछि हुन लागेको मैत्रीपूर्ण खेलमा सुखद् नतिजालाई निरन्तरता दिने बताइन्। उनले आफ्नो टोलीको मनोबल उच्च रहेको र भारतलाई हराउँदै साफ उपाधि दिलाएपछि टोलीको स्तर पनि बढेको बताइन्। टोलीमा अनुभवी र नयाँ प्रतिभावान खेलाडी समावेश भएको भन्दै राम्रो खेल हुने अपेक्षा कप्तान एञ्जिालले राखेकी छिन्। भारतसँगको मैत्रीपूर्ण खेल आगामी ओलम्पिकका लागि अनुभव संगाल्ने अवसर भएको भन्दै मनोबल उच्च बनाउन जितेर आउने उनले बताइन्।

पहिलो पटक राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनेका थापाले नेपाली महिला फुटबल टोलीले आधुनिक फुटबल खेलाउने तयारीमा छन्। एन्फाले मैत्रीपूर्ण खेलले ओलम्पिक छनोट खेलमा अनुभव खेलको रुपमा हेरेको छ। नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। नेपाली टोली सोमबार चेन्नई प्रस्थान गर्नेछ।

प्रकाशित: २९ माघ २०७९ ०७:५७ आइतबार

अखिल नेपाल फुटबल संघ (एन्फा)