खेल

एनआरटीलाई धक्का

काठमाडौं- एनआरटीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार आरसिटीसँग गोलरहित बराबरी खेलेपछि शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। नवौं चरणको खेल सकिदाँ एनआरटी १९ अंकसाथ दोस्रो स्थानमा छ भने आरसिटी १७ अंक लिएर चौथो स्थानमा छ। च्यासल युथ क्लब १९ अंकसहित तेस्रो स्थानमा रहँदा २० अंक बटुलेको श्रीकुमारी क्लब शीर्ष स्थानमा छ।

शीर्ष दुई क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन्। लिगमा चार खेल बाँकी हुँदा उपाधि होड रोमाञ्चक बनेकोछ। लिग सुरु हुँदा सबैले आरसिटी र एनआरटीलाई बढुवा हुने क्लबका रूपमा हेरेका थिए। तर अन्तिम चार खेल बाँकी हँुदा श्रीकुमारी र च्यासल युथले आरसिटी र एनआरटीलाई दबाबमा राखेका छन्।

पहिलो हाफमा बराबरीको स्थितिभए पनि दोस्रो हाफमा एनआरटी हाबी भयो। मध्यान्तरअघि एउटा राम्रो अवसर खेर फालेको एनआरटीले दोस्रो हाफमा पनि अवसरसदुपयोग गर्न सकेन। दोस्रो हाफमा एनआरटीका कप्तान प्रविन सैंजुले हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो।

‘आज हामीलाई भाग्यले साथ दिएन। खेलाडीले प्रयास गरेका हुन् तर केही राम्रो अवसरमा गोल गर्ने अवसरमा भने चुके,’ एनआरटीका सहायक प्रशिक्षक श्याम मालीले भने, ‘हामी ‘ए’ डिभिजनमा उक्लने उद्देश्यसाथ खेलेका थियौं। तर अहिले पनि हाम्रो सम्भावना कायम नै छ। श्रीकुमारीसँगको खेल निर्णायक बन्नेछ।’

एनआरटीले अब बाँसबारी, श्रीकुमारी, टुसाथ र सातदोबाटो युथसँग खेल्न बाँकी छ भने आरसिटीको खेल ब्वाइज युनियन, पुल्चोक स्पोर्ट्स, च्यासल र महावीरसँग हुनेछ। श्रीकुमारीले भने सामाजिक युथ क्लब, एनआरटी, ब्वाइज युनियन र पुल्चोकसँग खेल्न बाँकी छ।

यसअघिको खेलमा पुछारबाट दोस्रोमा रहेको सामाजिकसँग अंक बाँड्दा आरसिटीको माथि जाने बाटो कठिन भएको छ। 

‘आज दुवै टोलीलाई जित्नैपर्ने स्थिति थियो। तर गोल मिडफिल्डर जम्न नसक्दा गोल निकाल्न सकेनौं। अग्रपंक्तिमा अनुभवी खेलाडी नहुँदा गोल भएन। शेखर(लिम्बु) ले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्,’ आरसिटीका मुख्य प्रशिक्षक बैजुनाथ कपालीले भने, ‘पहिलो हाफ बराबरीभए पनि दोस्रो हाफमा उनीहरू हाबी भए। यससँगै हाम्रो माथि उक्लने सम्भावना कमजोर बने पनि समाप्त भइसकेको छैन। च्यासललाई हराउन सक्यौं भने माथि जान सक्छौं।’

प्रकाशित: ७ आश्विन २०७३ ०२:५६ शुक्रबार

एनआरटीलाई धक्का