खेल

न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

काठमाडौं- हेल्प नेपाल स्पोर्टस क्लब र न्यु डायमन्ड एकेडेमी तेस्रो एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियन भएका छन्। पहिलोपल्टविभागीयभन्दा बाहिरका टोलीले उपाधि जितेका छन्। पुरुष भलिबलमा भने हेल्प नेपालले २५ वर्ष पुरानो कीर्तिमानतोड्न सफल भएको छ। २०४८ सालमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको भलिबल टोली बनेयता पुरुषतर्फ पब्लिक टोलीले राष्ट्रिय प्रतियोगिता जित्न सकेको थिएन। तर हेल्प नेपाल दुई दशकभन्दा पुरानो कीर्तिमानतोड्दै च्याम्पियन बन्यो।

महिला भलिबलमा डायमन्ड प्रायः सबै प्रतियोगिताको फाइनल पुग्ने टोली हो। दुई साताअघि पोखराको लामाचौरमा डायमन्डले कट्टर प्रतिद्वन्द्वी एपिएफ क्लबलाई सोझो सेटमा हराउँदै उपाधि जितेको थियो। तर यसपटक डायमन्डले एपिएफलाई सेमिफाइनलमै पाखा लगायो। फाइनलमा पहिलो विभागीय महिला टोली पुलिस क्लबलाई सहजै २५–१८, २५–१४, २५–१८ ले हरायो।

पुरुषमा हेल्प नेपाल समूह चरणमा आर्मीसँग भोगेको हारको बदला पनि लिन सफल भयो। शुभम चौधरीले २७ स्कोर गरेपछि हेल्पले आर्मीलाई २५–२१, २७–२५, २५–१७को सोझो सेटमा पराजित गरेको हो। समूह चरणमा आर्मीले हेल्पविरुद्ध १९–२५, ३२–३०, २५–१७, २५–१९ को नतिजा निकालेको थियो।तर सोमबार हेल्पले आर्मीलाई एक सेट जित्ने मौका पनि दिएन।

हेल्प नेपाल 'भलिबल क्रेजी' हरू मिलेर स्थापित क्लब हो।दुई वर्षअघि वासु श्रेष्ठको नेतृत्वमा क्लब बनेयता हेल्पले पहिलोपटक राष्ट्रिय स्तरको उपाधि जितेको छ।

फाइनल जितेपछि हेल्पका खेलाडी र पदाधिकारीले धेरैबेर कभर्ड हलको कोर्टमा खुसी मनाए। खुसीकै भिडमा धेरै खुसी देखिन्थे हेल्पका कप्तान राम श्रेष्ठ। १२ वर्षे भलिबलमा करिअरमा उनले पहिलोपल्ट राष्ट्रिय प्रतियोगिताको उपाधि जितेका थिए।

'भलिबल करिअरमा आज जस्तो खुसी मैले कहिल्यै पाएको छैन।मैले अहिलेसम्म विभागीय टोलीलाई हराउन सकेको थिइनँ। तर यसपटक एउटै प्रतियोगितामा तीन विभागीय टोलीलाई हराउँदै उपाधि जित्यौं,'कप्तान रामले भने, 'क्लब र टिमको मिहिनेतले उपाधि जित्न सफल भयौं। अहिलेको उपलब्धि जोगाउँदै लिग जित्ने अभियानमा लाग्छौं हामी।'

हेल्प नेपालले प्रतियोगितामा चार भारतीय खेलाडीअनुबन्धित गरेर कोर्टमा उतारेको थियो। प्रतियोगिताका क्रममा टोलीको कप्तानी सम्हाल्न अमेरिकाबाट आइपुगेका रामले टिम समन्वय मिलाउन बढी ध्यान दिइएको बताए। उनले भने, 'भारतीय खेलाडी हामीभन्दा स्तरीय स्पाइकर हुन्। मैले पनि उनीहरूको स्तरमा खेल्न सक्दिनँ। तर मैले टोलीको समन्वयमा ध्यान दिए पुग्ने अवस्था थियो। नेपाली र भारतीय खेलाडीबीचको समन्वय मिलाउन मैले धेरै ध्यान दिएँ।'

आर्मीका कप्तान हरिहजुर थापाले ब्लक कमजोर हुँदा खेल हार्नुपरेको बताए। उनले भने, 'स्पाइक र अट्याकिङमा हामीले मिहिनेत गरेका हौं। तर उनीहरूको जम्प रिच हाई थियो। उनीहरूको स्पाइकरोक्न हामीले सकेनौं।'

हेल्पको जितमा नवीन बलियनलेे स्पाइकबाट १३ र ब्लकबाट २ स्कोर गरे।

आर्मीका स्पाइकर नरेन्द्र गिरीले १६ स्कोर गरे। भैरव बम र मानबहादुर श्रेष्ठले समान १० स्कोर गरे।

महिला च्याम्पियन टोली न्यु डायमन्डका प्रशिक्षक कुमार राईले सर्भिस योजनाअनुसार नहुँदा विपक्षीले अपेक्षा गरेभन्दा धेरै अंक ल्याएको बताए। उनले भने, 'हामीमाफाइनल जित्छौं भन्ने विश्वास थियो। आजको स्कोरभन्दा अझ कममा हराउने लक्ष्य थियो। सर्भिस कारण हामीले खेल शतप्रतिशत नियन्त्रणमा लिन सकेनौं। तथापि उपाधि जित्दा खुसी छौं। नानीहरूले धेरै मिहिनेत गरेका छन्। हामीले १० वर्षयतागरेको लगानीप्रतिफल हो यो।'

डायमन्डलाई उपाधि दिलाउने क्रममा प्रतिभा मालीले सर्वाधिक ३५ स्कोर गरिन्। उनलेस्पाइकबाट २९, ब्लकबाट २ रसर्भिसबाट ४ जोडेकी हुन्। उत्कृष्ट खेलाडीबाट पुरस्कृत प्रतिभा प्रतियोगितामा सर्वाधिक स्कोर गर्ने खेलाडी हुन्।उनलाई साथ दिएकी कप्तान ललिता नाथले ५ स्कोर गरिन्। पुलिसकी कोपिला उप्रेतीले ९ र मनीषा चौधरीले ५ स्कोर गरे।दुवैतर्फ एपिएफको टोलीले तेस्रो स्थान हासिल गर्‍यो।

महिला/पुरुषविजेता टोलीले समान १ लाख २५ हजार, उपविजेताले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाए। विजेताटोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा लगायतले पुरस्कृत गरे।

प्रकाशित: ४ आश्विन २०७३ ०४:५२ मंगलबार

न्यु डायमन्ड हेल्प नेपाल च्याम्पियन