खेल

सिलोङमा थ्री स्टार विजयी

काठमाडौं- रुस्लान थ्री स्टार क्लबले भारतको सिलोङमा जारी ६४ औं बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा विजयी सुरुआत गरेको छ। थ्री स्टारले सोमबार लिग चरणको पहिलो खेलमा नागाल्यान्डको बारक फुटबल क्लबलाई ६–१ ले पराजित गरेको हो। सिलोङको नेहरु स्टेडियममा सोमबार थ्री स्टारको जितमा अफ्रिकन खेलाडी कायोडी मार्टिन्सले दुई तथा निराजन खड्का, बुद्ध चेम्जोङ, सुनील बल र कप्तान विक्रम लामाले १–१ गोल गरे।

खेलको चौथो मिनेटमै निराजन खड्काको पास सदुपयोग गर्दै मार्टिन्सले थ्री स्टारको खाता खोले। उनैले २२ औं मिनेटमा विमल घर्तीमगरको पासमा हेडबाट दोस्रो गोल थपे। एकपछि अर्को आक्रमण बुनेको थ्री स्टारबाट ३९ औं मिनेटमा निराजनले तेस्रो गोल गरे। ४३ औं मिनेटमा थ्री स्टार डिफेन्सको असझदारीको फाइदा उठाउँदै नागाल्यान्डका इटिईबानाले गोल फर्काए।

थ्री स्टारले दोस्रो हाफमा ३ गोल थप्यो। ५१ आंै मिनेटमा बुद्ध चेम्जोङले तीन डिफेन्डरलाई बिट गर्दै गोल गरे। ७३ आंै मिनेटमा सुनील बल र अन्तिम १० मिनेट बाँकी छँदा कप्तान विक्रमले गोल गरे। विक्रमले मिडफिल्डबाट एक्लो प्रयासमा अगाडि बढाएको बलमा गोलकिपर बिट गोल गरेका थिए।

जितपछि खेलाडीको प्रर्दशनमा प्रशिक्षक मेघराज केसी खुसी देखिए। 'पहिलो म्याच अवश्य पनि गाह्रो हुन्छ, तर थपिएका दुई नया खेलाडीले पनि राम्रो खेले।' उनले भने 'प्रतिद्धन्द्ी कमजोर भएकाले त्यही अनुसार फराकिलो जित निकाल्न सफल भयौ। खेलाडीको प्रर्दशनबाट म खसी छु ।'

६ बर्ष अघि थ्रीस्टारलाई प्रतियोगिताको उपविजेता बनाएका मेघराज केसीले टिममा विस्तारै सेटिङ मिल्दै गएको बताए। 'टिम विस्तारै बलियो बन्दै छ। खेलाडीको क्षमतामा निखार आउदै छ, अर्को खेलमा हामी अझ राम्रो खेल्नेछौ' उनले भने। बढी कन्पि्कडेन्ट भएर पहिलो हाफमा केही गल्ति दोहरिएपनि दोस्रो हाफपछि खेलाडीले सुधारिएको प्रर्दशन गरिएको उनको भनाई छ।

जितपछि कप्तान बिक्रम लामाले सोचे अनुसारको खेलाडीले प्रर्दशन गरेको बताए। आफ्नो ट्याक्टिस सफल भएको दाबी गर्दै उनले सोही अनुसार धेरै गोल निस्किएको बताए। उनले भने 'पहिलो हाफमा लामो दुरीको पास असफल भयो, दोस्रो हाफमा सुधार्यौ। आजको खेलले आगामी खेलमा सुधार गर्न थप मदत गरेको छ।'

थ्रीस्टारले आगामी शुक्रबार भारतीय आई लिग क्लब सिलोङ लाजोङसंग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ४ आश्विन २०७३ ०४:४९ मंगलबार

सिलोङमा थ्री स्टार