खेल

मन्त्रीको अगुवाइमा रंगशाला सफाइ

काठमाडौं–युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीको नेतृत्वमा शुक्रबार दशरथ रंगशाला सरसफाई गरिएको छ । भूकम्पबाट जीर्ण बनेको रंगशालामा लामो समयदेखि खेल गतिविधि हुन सकेको छैन । भूकम्पकै कारण दुई वर्षअघि थालिएको रंगशाला पुनर्निर्माण काम पनि रोकिएको थियो । त्यसकारण खेलप्रेमीबाट व्यापक आलोचना भइरहेका बेला तत्कालका लागि रंगशालाको अवस्था सुधार गर्ने उद्देश्यमा सरसफाई गरिएको मन्त्री श्रीपालीले बताएका छन् ।

सरसफाईमा मन्त्रीसँगै मन्त्रालयका अन्य अधिकारी, १८ महिनापछि नेपालमा हुने निर्णय भएको १३ औं साग तयारीअन्तर्गत निर्माण उपसमितिका संयोजक टासी घले लगायत सयौं खेलप्रेमी सहभागी थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पदका प्रत्याशी एवं नेपाल गल्फ संघका महासचिव घलेले गल्फ मैदानमा घाँस काट्ने मेसिन ल्याएर रंगशालाको मैदान सफा गरेको बताए । ‘देशकै एकमात्र रंगशालाको अवस्था अत्यन्तै जीर्ण भएकाले खेलप्रेमीको भावनाअनुसार सरसफाई गरिएको हो,’ गत महिनामात्र साग तयारीको पूर्वाधार निर्माण उपसमिति संयोजकको जिम्मा पाएका घलेले भने, ‘भुइँचालोपछि पुनर्निर्माणको कामले गति लिन सकिरहेको थिएन । अब हामीले प्राविधिक टोलीमार्फत यसको अध्ययन गरिरहेका छौं । चाँडै यसको निर्माण कामले गति लिन्छ ।’

 

प्रकाशित: १ आश्विन २०७३ ०३:४२ शनिबार

मन्त्रीको अगुवाइमा रंगशाला सफाइ