खेल

ओलम्पियाडमा नेपालको वरियता सुधार

काठमाडौं- ४२ औं चेस ओलम्पियाडमा एघारौं ताथ अन्तिम चरणमा बुधबार नेपाली पुरुष टोली इराकसँग पराजित भएको छ। अजरबैजानको बाकुमा जारी प्रतियोगिताको अन्तिम दुई खेलमा पराजित भएपछि नेपाली टोली पदक जित्न सफल भएन। नवौं चरणपछि समूह डी मा दोस्रो स्थानमा रहेर पदक नजिक पुगेको नेपालले एक अंक पाएको भए पदक जित्ने सम्भावना थियो।

नेपाल अन्तिम खेलमा ९३ औं वरीयताको ईराकसँग २.५–१.५ अंक अन्तरले पराजित भयो।

पहिलो बोर्डमा २०९९ रेटेड केशव श्रेष्ठ २१६१ रेटेड नमिर मोहमद स्माइल र दोस्रो बोर्डमा २०३४ रेटेड  सजिन महर्जन २२ रेटेड मोहमद सलाह जोजे पराजित भए। तेस्रो बोर्डमा क्षितिज भण्डारीले २२६१ रेटेड मोहमद वसिम अराजलाई हराए भने चौथो बोर्डमा फिडे मास्टर २०१७ रेटेड विलमलाल श्रेष्ठले २२३६ रेटेड अब्दुल सतार अहमदसँग बराबरी खेलेका थिए।

४२ औं चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीका लागि मिश्रित रह्यो। नेपालले जमैका, माल्टा, जर्सी र युएस भर्जिन इलेसलाई हरायो भने दक्षिण कोरियासँग बराबरी खेलेको थियो।  नेपालले वरीयतामा भने सुधार गरेको छ। प्रतियोगिता सुरु हुँदा १२७ औं स्थानको नेपाल समाप्तिपछि  १२० औं स्थानमा उक्लेको छ।

बुद्धिचाल संघले जनाएअनुसार व्यक्तिगत प्रदर्शनतर्फ नेपालको यात्रा फलदायी भयो। सुजना लोहनी पहिलो नेपाली महिला फिडे मास्टर भइन्। उनले नवौं चरण खेलेर ७ अंक बटुलिन्। अहिलेसम्म सातौं ओलम्पियाडमा सहभागी नेपाली खेलाडोको यो व्यक्तिगत उच्च स्कोर हो। यसअघि जर्मनीमा सम्पन्न ओलम्पियाडमा मनीष हमालले साढे ६ अंक बनाएका थिए।

युवा खेलाडी सजिन महर्जन र क्षितिज भण्डारीले क्यान्डिडेट मास्टर (सिएम) को उपाधि पाए। सजिनले १० खेलमा  साढे ४ अंक जोडे र १३ रेटिङ थपे। ५२ रेटिङ जोड्न सफल क्षितिजले साढे ५ अंक बटुले।

फिडे मास्टर विलमलाल श्रेष्ठले प्रतियोगितामा राम्रो प्रदर्शन गरे। नवौं चरण खेलेका उनले ६ जित एक बराबरी खेले। उनले साढे ६ अंक जोड्दै ५५  रेटिङ सुधारे।

पूर्व नेपाल च्याम्पियन सिएम केशव श्रेष्ठका लागि प्रतियोगिता निराशाजनक रह्यो। प्रतियोगिताभर आफूभन्दा उच्च वरीयताका खेलाडीसँग खेलेका केशवले आठ खेलमा एकमा जित र एकमा बराबरी खेलेका थिए। उनले १७ रेटिङ गुमाए।

एघारौं चरणमा महिला टोलीले आरुवासँग २–२ को बराबरी खेल्यो। नेपाल समूह ई मा छैटौं स्थानमा रह्यो। बराबरीले नेपालले कांस्य जित्ने अवसर गुमायो। ११४ औं स्थानको नेपाल १०९ औं स्थानमा उक्लेको छ।

सिन्दिरा जोशी र सुजना लोहनी विजयी हुँदा अस्मिता अधिकारी र मोनालिसा खम्बु पराजित भए। सुजनाले ४६ रेटिङ र सिन्दिराले २९ रेटिङ सुधार गरे।

चेस ओलम्पियाडको पुरुषतर्फ अमेरिका च्याम्पिनय हुँदा युक्रेन दोस्रो र रुस तेस्रो भए भने महालाको उपाधि चीनले जित्यो। दोस्रोमा पोल्यान्ड र तेस्रोमा युक्रेन रहे।

प्रकाशित: ३० भाद्र २०७३ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App