खेल

चार महिनापछि केहीलाई पुरस्कार

नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता केही खेलाडीले पूर्वघोषित नगद पुरस्कार पाएका छन्।  

गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको चार महिनापछि खेलाडीले पुरस्कार पाएका हुन्। नवौं राष्ट्रिय खेलकुद गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएको थियो। तर, लामो समय बितिसक्दा पनि खेलाडीले पुरस्कार पाएका थिएनन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार खेलाडीको पुरस्कारबापत कुल ३६ लाख २० हजार रूपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको जानकारी दिएको हो। नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ तीन सय चार स्वर्ण पदक विजेताले २५ हजारका दरले ७६ लाख तथा समूहगततर्फ ५ सय ३६ स्वर्ण पदक विजेताले १५ हजारका दरले ८० लाख ४० हजार गरी कुल एक करोड ५६ लाख ४० हजार रूपैयाँ स्वर्ण विजेताले पाउनुपर्ने थियो।  

तथापि, राखेपले प्राविधिक कारणले ३६ लाख २० हजार रूपैयाँ पहिलो चरणमा खेलाडीको खातामा पठाइएको जनाएको छ। खेलाडीहरूलाई आआफ्नो खातामा सीधै नगद पुरस्कार रकम जम्मा गर्न विभिन्न १६ वटा बैंकहरूबाट भुक्तानी पठाउनुपर्ने भएकाले विवरण तयार गरी ‘एकाउन्ट डिटेल्स कन्फर्मेसन’ का लागि बैंकहरूमा पठाउँदा खेलाडीको बैंक विवरण नमिलेको तथा विभिन्न बैंकहरू मर्ज भएका कारण पुरस्कार रकम ट्रान्सफर गर्न कठिनाइ भएकाले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमार्फत पहिलो चरणमा कुल ३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा पठाएको राखेपको दाबी छ।

 

प्रकाशित: २३ माघ २०७९ ०२:४३ सोमबार