खेल

अकी र आरभलाई सफलता

नेपालका अकीजुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौं अन्तर्गत सर्किट-१ को ब्वाइज डबल्समा शुक्रबार च्याम्पियन भएको छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट नीलेशभाइ पटेल र देवाशिष साहूको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गर्‍यो। गर्ल्स डबल्समा मंगोलियाका दिदी मार्ता चोक्सोम्जाभ र बहिनी मरालगु चोक्सोम्जाभको जोडी च्याम्पियन बन्यो।

दिदीबहिनीको जोडीले फाइनलमा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीलाई ६–० र ६–० को सोझो सेटमा सहजै हरायो। डबल्सका विजेतालाई आयोजक नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणा, टेनिस संघका सदस्य एवं प्रतियोगिताका निर्देशक अजय विष्ट र टेनिस संघका सदस्य जयजीव हाडाले एक कार्यक्रम बीच पुरस्कृत गरे।

डबल्समा स्वर्ण जितेका दिदीबहिनीको जोडी सिंगल्समा भने एकअर्काका प्रतिद्वन्द्वी बनेका छन्। सेमिफाइनलमा मरालगुले हङकङकी जेन लिङ छुन वोङलाई ६–२ र ६–१ तथा मार्ताले रूसकी मिलिना शुब्खानकुलोभालाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउँदै फाइनल भेट पक्का गरेका हुन्।

ब्वाइज सिंगल्समा भियतनामका फाम ला होङले हङकङका होङ क्यु लाउलाई ६–३, ६–७ (४) र ६–३ तथा भारतका देवाशिष साहुले ताइपेईका काइ इन याङलाई ६–१, ४–६ र ७–६ (३) को सेटमा पन्छाउँदै फाइनलमा पुगेका छन्। दुवै सिंगल्सका फाइनल शनिबार हुनेछन्।

प्रकाशित: २१ माघ २०७९ ०१:१३ शनिबार

ब्वाइज डबल्समा शुक्रबार च्याम्पियन अकी र आरभको जोडीले फाइनल