खेल

सन्दीप प्रकरणमा काँग्रेस महामन्त्रीकाे टिप्पणीः प्रधानमन्त्रीको मौनता जिम्मेवार जवाफ हुन्न

क्यान अध्यक्षलाई उनको प्रश्नः खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गुर्नपर्दैन?

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन भन्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई प्रश्न गरेका छन्।  

उनले शुक्रबार दिउँसो क्यानका अध्यक्षलाई फोन गरेर ‘खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गुर्नपर्दैन?’ भन्दै प्रश्न गरेको ट्विटमार्फत जानकारी दिएका छन्।'  

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पनि यस्तो जिज्ञासा राखेका छन्, ‘खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुन्छ। ध्यानाकर्षण गराउँदछु – कि सहि भएको छ, बधाई दिनोस्, कि ‘यो प्रकरणमा पनि’ अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्।’  उनले प्रधानमन्त्रीको मौनता जिम्मेवार जवाफ हुन्न भन्दै टिप्पणी पनि गरेका छन्। 

क्यानले हिजो नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेपछि महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन्।  समाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि सन्दिप र क्यानविरुद्ध बाइकटक्यान अभियान सञ्चालन गरिरहेका छन्।  

बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो। यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। उक्त निवेदनमा सर्वोच्च अदालते कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ।  

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि यसअघि नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको थियो।

त्यसबेला सन्दीप र प्रतिश थिएनन्। दोस्रो चरणमा कूल २० खेलाडी राख्दा २ नयाँ खेलाडी थपिए भने पहिलो चरणबाट १० खेलाडी बाहिरिएका छन्।

प्रकाशित: २० माघ २०७९ ११:०८ शुक्रबार

विश्व प्रकाश शर्मा नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा