खेल

सुनील र आरिफको साथमा सिप्रदी

काठमाडौं- राष्ट्रिय यु–१९ क्रिकेट टोलीका उपकप्तान मोहम्मद आरिफ शेख र सुनील धमला बुधबार सिप्रदी ट्रेडिङ लिमिटेडसँग आबद्ध भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) को पहलमा दुई खेलाडीलाई सिप्रदीले मासिक २० हजार रुपैयाँ उपलब्ध गराउने गरी दुई वर्षे सम्झौता गरेको हो। आर्थिक तथा पारिवारिक समस्याले खेलाडीको ध्यान अन्यत्र नमोडियोस् भन्ने उद्देश्यसहित सिप्यानले सुरु गरेको अभियानमा व्यावसायिक प्रतिष्ठानसँग सहकार्यको यो पछिल्लो सम्झौता हो।

सिप्यानका महासचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले व्यावसायिक प्रतिष्ठानबाट यस्तो सहयोग भए खेलाडी खेलमा मात्र केन्द्रित भएर ढुक्क मनले खेल्न सक्ने बताए। 'सबै खेलाडीलाई यस्तो व्यवस्था गर्ने उद्देश्यमा खेलाडी संघ अघि बढिरहेको छ। खेलाडीले यसरी प्रायोजन पाए भने आर्थिक र पारिवारिक समस्यातिर धेरै ध्यान मोड्नुपर्दैन र ढुक्क भएर खेल्न सक्छन्,' उनले भने।

सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले तत्कालका लागि मासिक २० हजार रुपैयाँ उपलब्ध गराउने र आगामी दिनमा अनुबन्धित खेलाडीलाई क्रिकेट सामग्री पनि उपलब्ध गराइने जानकारी गराए। 'क्रिकेटले विश्वमाझ नेपालको गौरवमय पहिचान स्थापित गरेको छ। त्यसैले यो खेलका कर्मठ खेलाडीलाई प्रायोजन गर्न पाउँदा हामीलाई गर्व लागेको छ,' उनले भने, 'खेलकुदमा हामीले पहिलोपटक हात हालेका हौं। यो सहकार्यले खेलाडीलाई अझ उत्कृष्ट प्रदर्शन गर्न उत्साह मिल्नेछ भन्ने हाम्रो विश्वास छ।'

अनुबन्धित खेलाडीद्वय आरिफ र सुनीलले सम्झौताका लागि सिप्रदी र सिप्यानलाई धन्यवाद दिए। 'खेलाडीलाई यस्ता सहयोगको खाँचो छ। आर्थिक समस्याको दबाब भएन भने खेलाडीले निर्धक्क भएर आत्मविश्वाससाथ खेल्न सक्छन्,' सुनीलले भने, 'सिप्यानले खेलाडीका लागि निकै राम्रो काम गरिरहेको छ। हामीलाई मात्र नभई अन्य खेलाडीलाई पनि यस्तो अवसर मिल्यो भने मैदानभित्रको प्रदर्शन अझै सुधारिनेछ।'

अघिल्लो साता सिप्यानको पहलमा यु–१९ टोलीका कप्तान राजु रिजाल र प्रेम तामाङसँग एनआइसी एसिया बैंकले प्रायोजन सम्झौता गरेको थियो। त्यसअघि युवा खेलाडी सन्दिप लामिछाने सानिमा बैंकसँग आबद्ध भएका थिए।

प्रकाशित: २३ भाद्र २०७३ ०४:४५ बिहीबार

सुनील आरिफको साथमा सिप्रदी