खेल

माल्टामाथि नेपालीको जित

काठमाडौं- नेपालको पुरुष टोलीले अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडमा अर्को जित पाएको छ। नेपालले माल्टामाथि ३–१ को जित हासिल गर्दा महिला टोली भने त्यति नै अन्तरमा आइल्यान्डसँग पराजित भयो।

नेपालका फिडे मास्टर विलमलाल श्रेष्ठले उच्च प्रदर्शन पाँचौं चरणमा पनि जारी राख्दै डुनकान भिल्लालाई पराजित गरे। उनी र भिल्ला समान २०१७ रेटेड खेलाडी हुन्। विलमलालले व्यक्तिगत ४ अंक जोडेका छन्।

नेपाल बुद्धिचाल संघका अनुसार २०३४ रेटेड सजिन महर्जनले पनि व्यक्तिगत तेस्रो जित दर्ता गराउने क्रममा २१५१ रेटेड जोसेफ गाउसीलाई ४८ औं चालमा पन्छाए। जितसँगै सजिन क्यान्डिडेट मास्टरको उपाधितर्फ अग्रसर भएका छन्। ३.५ अंक बटुलेमा सजिन क्यान्डिडेट मास्टर हुनेछन्।

२०९९ रेटेड केशव श्रेष्ठ भने माथिल्लो रेटेड कोलिन पेसी (२१७२) सँग पराजित हुँदा २०१५ रेटेड क्षितिज भण्डारीले २०५७ रेटेड क्लारेन्स पिसेलालाई हराए।

महिलातर्फ मोनालिसा खम्बु र नेपाल च्याम्पियन सिन्दिरा जोशीले बराबरी नतिजा निकाले भने सुजना लोहनी र शान्ता थापा पराजित भए।

छैटौं चरणमा नेपालले पुरुषतर्फ कोलम्बिया र महिलातर्फ ग्वामसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २३ भाद्र २०७३ ०४:४१ बिहीबार

माल्टामाथि नेपालीको जित