खेल

पेप्सी ओपन गल्फ हुने

काठमाडौं- वर्षायामको अन्त्यतिर सुरु हुन लागेको गल्फ सिजनमा यसपालि एमेच्योरको नयाँ प्रतियोगिता थपिएको छ। वरुण बेभरेजको प्रायोजनमा शनिबार गोकर्ण गल्फ क्लबको कोर्समा पेप्सी ओपन गल्फ प्रतियोगिता हुने भएको छ।

१८ होलमा हुने प्रतियोगितामा देशभरका करिब १ सय एमेच्योर गल्फरले स्टेबलफोर्ड पद्दतिअनुसार ३/४ ह्यान्डीक्याप साथ प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा पुरुष, महिला, सिनियर र जुनियर गरी चार विधामा प्रतिस्पर्धा हुने गोकर्ण गल्फ क्लबका वरिष्ठ गल्फ निर्देशक दीपक आचार्यले बताए।

उनले प्रतियोगितामा भाग लिन चाहने खेलाडीको संख्या धेरै भए पनि पहिला आउनेलाई प्राथमिकतामा राखेर १ सय जनामात्र सहभागी गराइने बताए। विजेता, उपविजेता, महिला विजेता र उपविजेता, सिनियर (६० वर्षमाथि उमेरका खेलाडी) विजेता, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु दी पिन, मोस्ट बर्डिज लगायतमा पुरस्कार राखिएको जनाइएको छ। सबै विधाका विजेताले पुरस्कारस्वरुप गल्फ सामग्री पाउने पनि आचार्यले बताए।

प्रायोजक वरुण बेभरेजका क्षेत्रीय विकास निर्देशक निशी लामाले तीनवर्षे सम्झौता साथ प्रतियोगिता सुरु गरेको जानकारी गराए। 'हामीले यसअघि रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा पनि काम गरिरहेका छौं। गोकर्णसँगको यो प्रतियोगिताका लागि तीन वर्षपछि पनि हामी निरन्तरता दिने योजनामा छौं,' पेप्सी ओपनको तीन वर्ष समीक्षा गरेपछि व्यावसायिक प्रतियोगितामा पनि लगानी गर्न सक्ने बताउँदै लामाले भने, 'खेलकुद हाम्रो पुरानै लगावको विषय हो। हामी गल्फसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरिरहेका छौं। भविष्यमा खेलकुदका अन्य विधामा पनि हाम्रो उपस्थिति देख्न सकिन्छ।'

प्रकाशित: २२ भाद्र २०७३ ०४:०३ बुधबार

पेप्सी ओपन गल्फ हुने