खेल

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

पेरिस- बायर्न म्युनिखका खेलाडीद्वय थोमस मुलर र जोसुवा किमिचप्रेरित साबिक विजेता जर्मनीले नर्वेमाथि ३-० को अवे जित हासिल गर्दै विश्वकप छनोटमा उपाधि रक्षा अभियान सुरु गरेको दिन आइतबार इङ्ल्यान्ड र स्कटल्यान्ड पनि विजयी भएका छन्।

रुसमा हुने विश्वकप २०१८ को छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा जर्मनीलाई जित दिलाउन ओस्लोमा मुलरले दुई तथा किमिचले एक गोल गरे। उलेभाल रंगशालामा मुलरले गरेको गोलबाट १६ औं मिनेटमा जर्मनी अघि बढ्यो। किमिचले मध्यान्तर हुनैलाग्दा अर्को गोल गरेर पहिलो हाफमै जर्मनीको अग्रता दोब्बर पारे। समूह 'सी' को जोचिम लोउको टोलीलाई विजयी सुरुआत दिलाउने क्रममा मुलरले ६० औं मिनेटमा अर्को गोल थपे।

पहिलो चरणको खेल सकिँदा जर्मनी समूहको शीर्ष स्थानमा छ। सोही समूहमा अजरबैजानले पनि आइतबार सान मारिनोलाई १–० को नतिजामा हराएको थियो। तर गोलअन्तरमा जर्मनी माथि रह्यो। रुस्लान गुर्भानोभको गोलमा अजरबैजानले १० जनामा समेटिएर खेल अन्त्य गरेको सान मारिनोलाई हराएको हो। सान मारिनोका क्रिस्टियन ब्रोलीले ५२ औं मिनेटमा रातो कार्ड पाए।

समूहको अर्को खेलमा चेक गणतन्त्रलाई उत्तरी आयरल्यान्डले गोलरहित बराबरीमा रोक्यो।

'हामीमा जहिले पनि सुधारको सम्भावना रहन्छ। तर आज हामीले राम्रो खेल्यौं, हामीले आफूहरू सही बाटोमा छौं भनेर प्रमाणित गर्‍यौं,' मुलरले भने, 'सुधारको धेरै ठाउँ भए पनि आजको प्रदर्शन र नतिजाबाट हामी खुसी छौं।'

जुलाईमा फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा जर्मनीले सेमिफाइनलसम्म यात्रा तय गर्दा एउटै गोल गर्न नसकेका २७ वर्षे मुलर ओस्लोमा भने निकै प्रभावकारी साबित भए। आइतबार गरेका दुई गोलपछि उनको अन्तर्राष्ट्रिय गोलसंख्या ३४ पुगेको छ।

मुलरको भनाइमा सहमति जनाउँदै प्रशिक्षक लोउले थपे, 'मेरो विचारमा हामीले राम्रो फुटबल खेल्यौं। विपक्षीलाई दबाबमा राख्यौं। नर्वेले आज आफ्नै क्षमताअनुसार खेल्न सकेको थिएन, खेलमा कुनै पनि बेला उनीहरूको चुनौती महसुस भएन। तर त्यो पनि हामीले राम्रो खेलेका कारण भएको हो।'

चारपटकको विश्व च्याम्पियन जर्मनी १९३८ मा इटालीपछि विश्वकपमा उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा छ। नियमित कप्तान बास्टियन स्वास्टाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि आइतबार पहिलोपटक गोलकिपर म्यानुअल नुयुरले पूर्णकालीन कप्तानमा जर्मन टोलीको नेतृत्व गरे।

उता टर्नाभामा एडम लालानाले इन्जुरी समयको अन्त्यमा गोल गरेपछि साम एलार्डिसले इङल्यान्ड प्रशिक्षकका रूपमा पहिलो प्रतिस्पर्धात्मक खेलमा विजय हासिल गरेका छन्। समूह 'एफ' मा विजयी सुरुआत गर्दा स्लोभाकियाविरुद्ध इङ्ल्यान्डका लालानाले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेका थिए। त्यसअघि मार्टिन स्कर्टेलले ५७ औं मिनेटमा दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेर मैदान छोडेपछि स्लोभाकिया १० खेलाडीमा समेटिएको थियो।

कप्तान वायन रुनीले सोही खेलमार्फत इङ्ल्यान्डका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने आउटफिल्ड खेलाडीको कीर्तिमान बनाए। रुनीको लागि त्यो १ सय १६ औं अन्तर्राष्ट्रिय खेल थियो। रुनीले स्लोभाकियाविरुद्धको खेलमा रक्षात्मक मिडफिल्डको भूमिकामा खेले पनि एलार्डिसले भने उनको चाहनाअनुसार पोजिसनमा खेलाउने बताए।

'रुनीले चाहेको पोजिसनबाट खेल्न पाउने छन्। मेरो विचारमा उनले आगामी खेलमा १० नम्बर पोजिसनबाट खेल्नेछन्,' एलार्डिसले भने, 'उनको अनुभव र टोलीसँगको लामो यात्राका कारण कुन पोजिसनमा खेल्ने भनेर मैले भनिरहनुपर्दैन। टोलीप्रति उनी आफै धेरै जिम्मेवार छन्। आवश्यकता अनुसारको पोजिसनमा खेलेर उनले टिमलाई योगदान गरिरहने छन्।'

सोही समूहमा बेलायतको अर्को टोली स्कटल्यान्डले ९ खेलाडीमा समेटिएर खेल अन्त्य गरेको माल्टामाथि ५–१ को रवाफ जमायो। रोबर्ट स्नडग्रासले ह्याटि्रक गरेको खेलमा स्कटल्यान्डका लागि क्रिस मार्टिन र स्टेभन फ्लेचरले एक/एक गोल थपे। स्नडग्रासले १० औं मिनेटमा स्कटल्यान्डलाई दिलाएको अग्रता चार मिनेट नबित्दै माल्टाका अल्फ्रेड इपियोङले बराबरीमा ल्याएका थिए। तर ५३ औं मिनेटमा मार्टिनले गोल गरेर बेलायती टोलीलाई पुनः अग्रता दिलाए। जसमा स्नडग्रासले ६१ र ८४ औं मिनेटमा गोल थपे भने फ्लेचरले ७८ औं मिनेटमा गोल गरे। माल्टाका जोनाथन कारुआनाले ५९ तथा ल्युक ग्याम्बिनले इन्जुरी समयमा रातो कार्ड पाएपछि टोली ९ जनामा मैदान छोड्न बाध्य भयो।

समूह 'एफ' को अर्को खेलमा लिथुवानिया र स्लोभेनियाले २–२ को बराबरी नतिजा निकाले।

विश्वकप छनोटअन्तर्गत आइतबारैसमूह 'इ' का खेलमा डेनमार्कले अर्मेनियालाई १–० को नतिजामा हरायो भने रोमानिया र मोन्टेनेग्रोले १–१ तथा कजाकस्तान र पोल्यान्डले २–२ को बराबरी नतिजा निकाले।

प्रकाशित: २१ भाद्र २०७३ ०२:४८ मंगलबार

जर्मनी इङ्ल्यान्ड स्कटल्यान्ड सफल