खेल

एपिएफ र डायमन्ड भिड्ने

लामाचौर- घरेलु भलिबलमा विभागीय टोलीका खेलाडीहरू प्रतिष्ठाका लागि कडा मिहिनेत गर्ने गर्छन्। सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब एकअर्कासँग पराजित हँुदा प्रतिष्ठालाई जोड्ने गर्दछन्।

पोखराको लामाचौर जारी महिला भलिबलमा आर्मीले सेमिफाइनलमा एपिएफसँग पराजित भए पनि कोर्ट विभागीय कट्टरता देखाएको छ। एपिएफ क्लबमा चार वर्ष कप्तानी गरेकी निमा श्रेष्ठ अहिले आर्मीमा छिन्। आर्मी महिला भलिबलमा कान्छो विभागीय टोली हो। महिला भलिबल टिम बनाएको आर्मीले निमाको कप्तानीमा नयाँ खेलाडीलाई तयार पारिरहेको छ। तर शनिबार निमाले आफ्नो पूर्व टोलीविरुद्ध स्पाइकबाट लक्ष्य पूरा गर्ने अठोट लिएकी थिइन्। तर आर्मी टोलीले कोर्टमा अझै प्रभाव देखाउन सकेन।

निमाले भनिन्, 'लक्ष्य पहिलो हुने नै होे। अहिले सम्भव छैन। टिममा सबै नयाँ छन्। उनीहरूलाई अनुभव आवश्यक छ। मैले व्यक्तिगत रूपमा स्पाइकमा राम्रो गर्ने लक्ष्य बनाएको थिएँ तर त्यो पूरा भएन।'

एपिएफले आर्मीलाई २५–११, २५–१७, २५–१५ को सेटले हराउँदै फाइनल सुरक्षित गरेको छ। त्यसमा निमाले ३ स्कोर  र मनीषा खाँडले ५ स्कोर जोडे। एपिएफकी स्पाइकर रेश्मा भण्डारीले शतप्रतिशत १३ स्कोर बटुलिन्। उनले प्रहार गरेको १० स्पाइकमा १० वटैमा अंक लिइन्। नेबिका चौधरीले १३ स्कोर गरिन्। त्यसमा उनले सर्भिसबाट र ब्लकबाट समान १ अंक लिएकी हुन्।

यसैगरी न्यु डायमन्ड एकेडेमीका लागि सफल प्रतियोगिता मानिएको लामाचौर भलिबलमा टोली लगातार चौथोपटक फाइनल पुगेको छ। डायमन्डले लगातार चौथोपटक फाइनलमा एपिएफ नै प्रतिद्वन्द्वी पाएको छ। डायमन्डले प्रतियोगिताको पछिल्लो तीन संस्करणको उपाधि जित्दै ह्याटि्र्रक गरिसकेको छ। शनिबार डायमन्ड घरेलु टोली पश्चिमाञ्चलको टप्स स्कुललाई २५–१५, २५–१५, २५–१६ को सेटमा हराउँदै उपाधि रक्षाको नजिक पुगेको छ।

डायमन्डका प्रशिक्षक कुमार राई उपाधि जित्न चुनौती भएको बताउँछन्। उनले भने, 'हामीले आफ्नो चर्चा बढाएको स्थान लामाचौर हो। यहाँको माटो हामीलाई फापेको छ। लामाचौरमा उपाधि जित्न हामीले कडा मिहिनेत गरेका छौं। आफ्नो स्वाभाविक खेल देखाए एपिएफलाई हराउन सक्छौं।'

डायमन्डकी सेटर कृपा अधिकारी पनि प्रशिक्षक राईको भनाइसँग सहमत छिन्। उनी भन्छिन्, 'सबै खेलाडी फिट छन्। हामीले ब्लकमा केही मिहिनेत गर्नुपर्छ।  भलिबलमा टिम समन्वय र स्पिरिट महŒवपूर्ण छ। टिम स्पिरिटका साथ खेले हामी जित्न सक्छौं।'

डायमन्डकी मुख्य खेलाडी प्रतिभा मालीले टप्सविरुद्ध हाबी हुँदै धेरै स्कोर बटुलिन्। प्रतिभाले स्पाइकबाट २३ र सर्भिसबाट १ अंक लिइन्। पोखरेली समर्थकको साथ पाएकी प्रतिभाले खेलमा बिना दबाब स्पाइक गरेकी थिइन्। प्रतिभापछि डायमन्डबाट ओपन स्पाइक गर्ने पनमिका राईले १० स्कोर गरिन्। त्यसमा उनले सर्भिसबाट ३ अंक जोडिन्।

टप्सबाट कप्तान मञ्जु गुरुङ र अरुणा शाहीले समान ७ स्कोर गरे। ओपन स्पाइकर अरुणाले डायमन्डविरुद्ध टोलीले राम्रो खेलेको बताइन्। उनले भनिन्, 'न्यु डायमन्ड सेट टिम हो। हामीसँग नयाँ खेलाडी छन्। शनिबार लगातार तीन खेल्दा सबै थकित भए।'

शनिबारै पश्चिमाञ्चलले मध्यपश्चिमको श्रीगाउँलाई सोझो सेटमा २५–९, २५–१०, २५–१२ ले हराएको थियो। एपिएफले टप्समाथि २५–१३, २५–१०, २५–११ को विजय पाएको थियो।

नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको भलिबलमा पाँच टिमले प्रतिस्पर्धा गरिरहेका छन्। आइतबार फाइनलमा एपिएफ र डायमन्डले खेल्नुअघि टप्स र आर्मी भिड्ने छन्।

प्रकाशित: १९ भाद्र २०७३ ०४:१२ आइतबार

एपिएफ डायमन्ड भिड्ने