खेल

नेपाल प्रहरीलाई टिम इभेन्टमा स्वर्ण

नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३-० ले हराउँदै स्वर्ण जितेको हो। ललितपुर जिल्ला टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–९, ११–६ र ११–९ को सोझो सेटमा पराजित गरे। सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११–४, ११–५ र ११–८ ले हराइन्। अर्को सिंगल्समा एलिनाले रविनालाई ११–४, ३–११, ५–११, ११–४ र ११–७ ले पाखा लगाइन्।

भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो भइन्। इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–६, ११–५ र ११–४ को सोझो सेटमा पन्छाइन्।

लगनखेलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेस्रो भए। प्रतियोगितामा विभिन्न सात स्पर्धामा दुई सय पुरुष र ५६ महिला गरी दुई सय ५६ खेलाडी सहभागी छन्। पुरुषमा भारतबाट ९, बेलायतबाट दुई तथा फ्रान्स र पोर्चुगलबाट समान १/१ खेलाडी सहभागी छन्। महिलामा विदेशी खेलाडी सहभागी छैनन्।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन्। भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार हात पार्नेछन्।

प्रकाशित: १८ माघ २०७९ ०१:५८ बुधबार

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र नेपाल प्रहरी क्लब