खेल

लक्ष्यमा अगाडि बढ्दै न्यु डायमन्ड

पोखरा- काठमाडौंको न्यु डायमन्ड एकेडेमी लोकप्रिय टोलीको रूपमा उदाएको स्थान हो पोखरा लामाचौर। डायमन्डका लागि लामाचौर फलदायी भलिबल कोर्ट हो। तीज महोत्सवमा आयोजना गरिने भलिबलमा डायमन्डले पछिल्लो तीन संस्करण जितेर कीर्तिमान बनाएको छ। टोली चौथोपटक उपाधि जित्दै लामाचौरमा प्रभुत्व राख्ने लक्ष्यमा यसपल्टपोखरा आएको छ। नेपाली भलिबलको पहिलो रोजाइकी प्रतिभा मालीले करिअरमा पहिलोपल्ट उत्कृष्ट खेलाडीको ट्रफी पनि यसै प्रतियोगितामा थापेकी थिइन्। २०७० सालमा च्याम्पियन बनेको डायमन्डले त्यसयतालगातार फाइनलमा एपिएफलाई हराउँदै आएको छ।

यद्यपि डायमन्डले लामाचौर बाहेक एपिएफलाई अन्य ठाउँमा हराउन सकेको छैन।

चौथो पटक उपाधि रक्षा गर्ने अभियानबलियो बनाउने क्रममा डायमन्ड शुक्रबार प्रतियोगिताको सेमिफाइनल पुगेको छ। विभागीय टोली त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै डायमन्डले विजयी सुरुआत गर्‍यो। तर पहिलो खेलबाट प्रशिक्षक कुमार राई भने सन्तुष्ट छैनन्।

उनले भने, 'सहज टोली भएर होला खेलाडीले स्वाभाविक खेल खेलेनन्। स्पाइक गर्ने शैली केही परिवर्तन गरेको थिएँ। त्यसलाई प्रयोग गर्दा खेलाडी केही समय झुक्किए।'

राईले डायमन्डकी मुख्य स्पाइकर प्रतिभालाई शुक्रबार 'लो टेम्पोलो' अर्थात ओपन स्पाइकरले सट बल प्रहार गर्ने रणनीति खेलाएका थिए। पहिलो सेटमा राई रणनीतिमा पूर्णसफल भए। प्रायः ओपनबाट लामो बल प्रहार गर्ने प्रतिभाले सट बल प्रहार गर्दा आर्मीको ब्लकरले रोक्न सकेको थिएन। दोस्रो सेटदेखि भने निमा श्रेष्ठको कप्तानीमा रहेको आर्मीले प्रतिभालाई रोक्न दुई स्पाइकर नियमित राख्यो। तर डायमन्डलाई आर्मीले खेलको कुनै पनि सेटमा अप्ठेरो पार्न सकेन। डायमन्डका कप्तान ललिता नाथ, कृपा अधिकारी र प्रतिभाले खेलनियन्त्रण गर्दै आर्मीलाई २५–११, २५–१७, २५–१५ ले हराउन सफल भए। डायमन्ड समूह 'क' बाट विजेता र पराजित भएपनि आर्मी उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

राष्ट्रिय टोलीकी सेटर कृपाले स्पाइकरसँग समन्वय मिल्न नसक्दा खेल कमजोर देखिएको बताइन्। उनले भनिन्, 'क्षमताअनुसार हामीले खेल्न सकेनौं। म र स्पाइकरबीच नै समन्वय मिल्न सकेको थिएन। त्यसले पनि केही अप्ठेरो भयो।'

कप्तान ललिताले सुरुआती खेल भएकाले सहज नभएको बताइन्। उनले भनिन्, 'हामीले भविष्यका लागि रणनीति केही परिवर्तन गरेका थियौं। त्यसमा अभ्यास नपुगेर पनि तालमेल मिलाउन कठिन भयो। तर टिमले लक्ष्य प्राप्त गर्न अर्को खेलमा राम्रो गर्नेछ।'

एपिएफले मध्यपश्चिमको श्रीगाउँलाई २५–९, २५–१०, २५–१२ को सोझो सेटमा हरायो। समूह 'ख' को एपिएफ र पश्चिमाञ्चलबीचको खेल भने वर्षाका कारण हुन सकेन। सुरुआती दुई सेट एपिएफले जितेको अवस्थामा वर्षा हुँदा खेल रोकेको आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ।

एपिएफका प्रशिक्षक सुदेशकुमार रिमालले सुरुआती सेट जितेपछि दोस्रो रोजाइका खेलाडीलाई कोर्टमा पठाएका थिए।

उनले नियमित सेटर बिनिता बुढाथोकी, स्पाइकर रेश्मा भण्डारी, नेबिका चौधरीलाई आराम दिएका थिए। प्रतियोगितामा एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी भने अनुपस्थित छिन्। उनी एकमहिने प्रशिक्षणका जापान गएकी छन्। रिमालले सरस्वती नभएपनि टोलीले उपाधि जित्ने बताए।

आइतबारसम्म चल्ने प्रतियोगितामा डायमन्ड, एपिएफ, पश्चिमाञ्चल, श्रीगाउँ र आर्मी सहभागी छन्। विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १८ भाद्र २०७३ ०३:४९ शनिबार

लक्ष्यमा अगाडि बढ्दै न्यु डायमन्ड