खेल

एन्फाको पुरानै निर्वाचन निर्देशिका पास

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले रिक्त अध्यक्ष र एक उपाध्यक्ष पदका लागि तयार पारेको निर्वाचन निर्देशिका एसियाली फुटबल महासंघ (एएफसी) ले पास गरेको छ। एन्फाको साउन ३२ को बैठकले पारित गरेको १८ बुँदे निर्वाचन निर्देशिकालाई एएफसीले एउटा बुँदामा संशोधनको सुझाव दिँदै पास गरेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए। अहिले पास भएको निर्वाचन निर्देशिका २०७० सालकै निरन्तरता हो।

एन्फाले अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि कात्तिक ८ मा साधारणसभा गर्ने निर्णय गरिसकेको छ।

यसपटक पनि अध्यक्षमा उम्मेदवारी दिनेले कम्तीमा ५ प्रस्तावक र ५ समर्थक राखेर दर्ता गराउनुपर्नेछ। उपाध्यक्षको हकमा भने कम्तीमा १ प्रस्ताव र १ समर्थक भए पुग्नेछ। एउटा सदस्यले दोहारो प्रस्ताव वा समर्थक बसेमा त्यो बदर हुने निमावलीमा उल्लेख छ। साधारणसभाको ३० दिनअघि नै उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ। एन्फामा पारदर्शिता र विधिमा चल्नुपर्ने भन्दै लामो समय माग गर्ने उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्वाङकै उपस्थितिमा साउन ३२ को बैठकले निर्वाचन नियमावली पास गरेको थियो। एन्फा अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका टासी घलेले भने त्यसको चर्को आलोचना गरेका थिए। देशमा गणतन्त्र आइसक्दा पनि ५–५ प्रस्तावक र समर्थक राखिनु लोकतान्त्रिक विधि नभएको उनले जिकिर गरेका थिए।

प्रस्तावित उम्मेदवारको नामावली निर्वाचन मितिको २१ दिनअघि साधारणसभाका सदस्यलाई जानकारी गराइसक्नुपर्नेछ। एन्फाले १५ दिनअघि सदस्यलाई जानकारी दिने प्रस्ताव गरे पनि विधानसँग बाँझिने भन्दै एएफसीले सच्याउन सुझाव दिएको तुलाधरले बताए।  एन्फा अध्यक्षमा निर्वाचित हुन खसेको मतको स्पष्ट बहुमत हुनुपर्नेछ। २ सय बढीको सहभागिता रहने एन्फा निर्वाचनमा ६९ जनाले मात्र मत दिन पाउने प्रावधान छ।

४५ जिल्लाका ४५ जना, १२ ए डिभिजन क्लबका १२, बी डिभिजन क्लबबाट ५, सी डिभिजनबाट ३ तथा महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघबाट १–१ प्रतिनिधिले मात्र मतदान गर्न पाउने छन्।

प्रकाशित: १८ भाद्र २०७३ ०३:४४ शनिबार

एन्फाको पुरानै निर्वाचन निर्देशिका पास