खेल

प्रणव र सुनीराको विजयी सुरुआत

नेपालका प्रणव मानन्धर र सुनीरा थापाले आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट–१ मा सोमबार विजयी सुरुआत गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, भारतका प्रत्यक्ष, भारतका मयंक शर्मा, हङकङका होङ की लौ, चीनका फान्मिङ मेङ, भारतका वंश नन्दल, देवाशीष साहु, आर्यन सुटर, ड्रिक शाह र सागर कुमार तथा भियतनामका नोक लाम काउले पनि पहिलो चरणमा जित निकाले।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा सुनीराले भारतकी अनुष्का भोलालाई ६–४, ५–७ र ६–१ को सेटमा हराइन्। अन्य प्रतिस्पर्धामा भारतका सिम्रिन अहमद, अर्जुन खोराकिवाला, इसी माहेश्वरी, अमोदिनी नायक, तमन्ना टकोरिया, समइरा पहवा र साइ जान्भी तथा बेल्जिमकी क्यमिली फिसेट, हङकङकी जान लिङ छुन वोङ, रुसकी मिलिना सुब्खकुलोभा र थाइल्यान्डकी कन्छ्या छुङवातना विजयी भए। प्रतियोगिता आयोजक संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मूलले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे। ब्वाइज/ गर्ल्समा३२–३२ खेलाडी सहभागी छन्।

प्रकाशित: १७ माघ २०७९ ०१:२३ मंगलबार

आइटिएफ वर्ल्ड टेनिस टुर जे ६०