खेल

एनआइसी एसियासँग राजु र प्रेम

काठमाडौं- राष्ट्रिय यु–१९ क्रिकेट टोलीका कप्तान राजु रिजालसहित दुई खेलाडीलाई एनआईसी–एसिया बैंकले प्रायोजन गरेको छ। नेपाल क्रिकेट खेलाडी संघको सक्रियतामा भएको सम्झौतामा राजु र प्रेम तामाङसँग बैंकले दुईवर्षे सम्झौता गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र खेलाडीद्वयले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे। राजु र प्रमेले दुई वर्षसम्म बैंकबाट मासिक २० हजार रुपैयाँ पाउने छन्। त्यस्तै खेल सामग्रीका लागि पनि अलग्गै सहयोग पाउने जनाइएको छ।

राजुले क्रिकेटमा अघि बढ्न सम्झौताले अझै हौसला मिलेको बताए। राष्ट्रिय टोलीका सदस्य उनले भने, 'खेलाडी संघ र बैंकलाई धन्यवाद दिन चाहन्छु।'

अर्का क्रिकेटर प्रेमले खेलमा अझै राम्रोका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउँदै भने, 'हामी अझै क्रिकेटमा थप जिम्मेवार भएर खेल्नेछौं।'

बैंकका सिइओ रिसालले सम्झौतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का र खेलाडी संघको भूमिका रहेको चर्चा गरे। उनले क्रिकेट खेलाडीलाई प्रायोजन गर्नुको प्रसंग कोट्याउँदै भने, 'जुनियर र सिनियर दुवै तहमा क्रिकेटले हामीलाई खुसी हुने माहोल दिइरहेको छ। यद्यपि क्षमता हुँदाहुँदै खेलाडीले यसलाई पूरा समय दिन सकेका छैनन्। बाध्यताले बीचमै क्रिकेट छोड्नुपरेको छ। कम्तीमा खेलाडीले खेलमै केन्द्रित हुन सकुन भन्न यो सम्झौता गरेका हौं।'

उनले सुरुमा एकजनाको मात्र प्रस्ताव लिएर आए पनि क्रिकेटलाई सहयोग गर्नुपर्छ भनेर दुवैलाई प्रायोजन गरेको बताए। उनले थपे, 'यो एक किसिमको खेलकुद छात्रवृत्ति हो। यो कुनै पारिश्रमिक वा अनुदान होइन। उनीहरूको खेलमा सहयोग पुगोस भन्ने सानो प्रयासमात्र हो। यसले अरु कर्पोरेट हाउसहरू पनि आऊन् भन्ने हामी चाहन्छौं।'

रिसालले खेलाडीसँगको सम्झौता धेरै शर्त नरहेको प्रस्ट पारे। उनले थपे 'उहाँहरूले क्रिकेटमा भएको कोड अफ कन्डक्ट फलो गर्ने हो। त्यसबाहेक हाम्रा कार्यक्रममा निम्ता गर्दा समय मिल्दासम्म आइदिनुपर्नेछ। त्यसबाहेक खासै केही छैन।'

खेलाडी संघका महासचिव तथा राष्ट्रिय कप्तान पारसले यो खेलाडी सम्झौताको दोस्रो सफलता भएको उल्लेख गरे। यसअघि संघकै पहलमा राष्ट्रिय टोलीका सन्दीप लामिछानेलाई सानिमा बैंकले प्रायोजन गरेको थियो। पारसले भने, 'यो सुरुआतकै अर्को चरण हो। आउने दिनमा कर्पोरेट हाउसहरूमा पनि अन्य खेलाडीका लागि सम्झौताको प्रयास गरिनेछ।'

उनले खेलको विकासका लागि खेलाडीको भविष्य सुनिश्चित हुनुपर्नेमा जोड दिँदै भने, 'यसलाई हामीले प्रायोजनभन्दा पनि खेलाडी छात्रवृत्तिका रुपमा हेरका छौं।'

प्रकाशित: १७ भाद्र २०७३ ०४:०१ शुक्रबार

एनआइसी एसियासँग राजु प्रेम