खेल

धनगढीमा राष्ट्रिय ब्याडमिन्टन हुने

देशकै सर्वाधिक धनराशिको धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो। प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।

देशभरमै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता प्रदेशमा सञ्चालन गर्न लागेको संयोजक मेम्बर सिंहले जानकारी दिए। खुला पुरुष डबल, पुरुषतर्फ नै ४५ वर्षमाथिका भेट्रान र ५५ वर्षमाथिका भेट्रान गरी तीन इभेन्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक सिंहले बताए।

खुला पुरुष डबलमा प्रथमलाई १ लाख २१ हजार, द्वितीयलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिनेछ। ४५ वर्षमाथिको भेट्रानमा प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार तथा ५५ वर्षमाथिको भेट्रानमा प्रथमलाई ३१ हजार, द्वितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए।

प्रतियोगिताको जम्मा पुरस्कार राशि चार लाख ९ हजार हुनेछ। प्रतियोगिताका लागि फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाइसिट निकालिने बताइएको छ।

प्रकाशित: १३ माघ २०७९ ०१:०९ शुक्रबार

धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता