खेल

जोकोभिच सेमिफाइनलमा

 रूसका आन्द्रे रुब्लेभलाई पराजित गर्दै बुधबार सर्बियन स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।  

अघिल्लो सिजन प्रतियोगिता खेल्न नपाएका जोकोभिजले अन्तिम चारमा स्थान बनाएसँगै आफ्नो २२औं ग्रान्ड स्लाम उपाधिको नजिक पुगेको सन्देश दिएका छन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिचले पाँचौं वरीयताका रुब्लेभलाई ६–१, ६–२, ६–४ ले स्तब्ध बनाएका हुन्। ९ पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिच १०औं पटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका हुन्।  

३५ वर्षीय जोकोभिचले गत वर्ष कोभिड–१९ को खोप नलगाएका कारण प्रतियोगितामा सहभागी हुन पाएका थिएनन्। यस वर्ष भने अस्ट्रेलिया सरकारले खोपबिना प्रवेश निषेधलाई फुकुवा गरेपछि सहभागिताका लागि उनी त्यहाँ पुगेका हुन्। अब जोकोभिचले सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउलसँग प्रतिस्पर्धा गर्नेछन्। टोमी पाउलले बुधबार नै भएको खेलमा बेन सेल्टनमाथि ७–६ (८÷६), ६–३, ५–७, ६–४ को संघर्षपूर्ण जित निकालेका थिए।  

‘पछिल्ला दुई खेलको प्रतिस्पर्धा लयमा रहेका खेलाडीलाई पराजित गर्नु मेरो लागि निकै चुनौतीपूर्ण थियो,’ अन्तिम चारमा स्थान बनाएका जोकोभिचले भने, ‘पछिल्ला दुई खेलबाट निकै रोमाञ्चक अनुभव बटुल्न सकेँ। लयमा रहेका खेलाडीलाई पराजित गर्दै अगाडि बढ्नुको सन्देश मेरो प्रतिद्वन्द्वीमा पुगेको छ। म नयाँ इतिहास रच्ने भोकमा छु।’ साथै जोकोभिचले प्रतिस्पर्धात्मक खेलबाट आफ्नो मनोबल बढेको र सफलता कोर्टमा देखिएको बताएका छन्। उनको यो जितले २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्ने सम्भावना मजबुत बनेको छ। शीर्ष खेलाडीको सुरुआती चरणमा हार भोग्दै बाहिरपछि जोकोभिचको २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्ने सम्भावनालाई बल पुगेको हो। सर्बियन जोकोभिचले २१औं ग्रान्ड जितिसेका छन् भने स्पेनका राफाइल नाडालको नाममा २२औं ग्रान्ड स्लामको कीर्तिमान छ।  

प्रकाशित: १२ माघ २०७९ ०१:१९ बिहीबार