खेल

रियो ओलम्पिकका सफल र असफल खेलाडी

रियो दी जेनेरियो- रियो ओलम्पिक सोमबार औपचारिक रूपमा सम्पन्न हुँदा विश्वभरका खेलकर्मीहरू चार वर्षपछि जापानमा भेट्ने वाचासहित छुट्टिए। दुई साताभन्दा लामो समय चलेको विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा विभिन्न देशका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता थियो। तीमध्ये केही खेलाडीले आफ्नो उपस्थिति सफलताको दृष्टिबाट कालजयी बनाउँदा ठूलो आशा गरिएका केही खेलाडी असफल भए।

सफल हुने

उसेन बोल्ट (एथलेटिक्स)

फिटनेसको दुविधाका बीच रियो पुगेका सुपरस्टार धावक ब्राजिल ओलम्पिकमा तेहेरो ह्याटि्रक पूरा गर्न सफल भए। छोटो दुरीमा विश्वकै सबैभन्दा तीब्र गतिका जमैकन धावकले १ सय, २ सय र ४ गुणा १ सय मिटर दौडमा स्वर्ण पदक जिते। यी तिनै स्पर्धामा उनले ओलम्पिक स्वर्ण जितेको यो लगातार तेस्रो संस्करण हो। ट्र्याक एन्ड फिल्डका सर्वोत्कृष्ट खेलाडीमा आफूलाई उभ्याएका बोल्टको आइतबार ३१ औं जन्मदिन थियो।

 

माइकल फेल्पस (पौडी)

रियो ओलम्पिकको सुरुआत हुनुभन्दा केही समयअघिसम्म अमेरिकी पौडीवाज फेल्पसको अवस्था पनि दुविधाजनक थियो। तर उनले रियोको पोखरीमा पाँच स्वर्ण पदक थपेर ओलम्पिक इतिहासमा कुल व्यक्तिगत स्वर्ण पदकसंख्या २३ पुर्‍याए। 'मेरो विचारमा अर्को फेल्पस देख्न कठिन छ,' रियोमा सनसनी मच्चाएपछि फेल्पसका प्रशिक्षक बब बोम्यानले भनेका थिए। श्रीमती निकोल र छोरा बुमरको सामुन्ने ओलम्पिक इतिहासकै सबैभन्दा सफल खेलाडीको दर्जा हासिल गर्दै ३१ वर्षे पौडीवाजले करिअरमा पूर्णविराम लगाए। अन्तर्राष्ट्रिय करिअर सकिएको घोषणा गर्दा उनको मुहारमा कुनै पछुतो थिएन, 'चार वर्षअघिभन्दा अहिले मेरा लागि क्षण थप भावुक रह्यो,' लन्डन ओलम्पिक २०१२ पछि संन्यास लिने चर्चा गरिएका फेल्पसले भने।

मो फराह (एथलेटिक्स)

सोमालियामा जन्मिएका बेलायतका मो फराहले बोल्टलाई पछ्याउने क्रममा रियो ओलम्पिकबाट दुई इभेन्ट्समा लगातार दोस्रोपटक स्वर्ण पदक जित्ने खेलाडीका रूपमा आफूलाई उभ्याए। ३३ वर्षे फराहले चार वर्षअघि लन्डनमा जितेका ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक रक्षा गरे। यसअघि यी दुई इभेन्टमा फिनल्यान्डका लासे भिरेनले १९७२ र १९७६ मा स्वर्ण पदक जितेका थिए।

सिमोन बाइल्स (जिम्न्यास्टिक)

अमेरिकी जिम्न्यास्टिक खेलाडी बाइल्सले ओलम्पिकमा पहिलोपटक सहभागिता जनाउँदा नै चार स्वर्ण पदक जितेर पुरानो कीर्तिमानसँग बराबरी गरिन्। १९ वर्षीया जिम्न्यास्टले पाँच स्वर्ण पदक जित्न नसकेकोमा दुःख व्यक्त गरे पनि आफूले रियोमा बिताएका प्रत्येक क्षणमा रमाएको प्रतिक्रिया दिइन्। जिम्न्यास्टिकमा ओलम्पिकको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने उनी पाँचौं महिला खेलाडी हुन्। उनीभन्दा अघि १९५६ मा हंगेरीकी एग्नेस केलेटी, १९५६ मा सोभियत संघकी लारिसा लाटिनिना, १९६८ मा चेक गणतन्त्रकी भेरा कास्लाभ्स्का र १९८४ मा रोमानियाकी इकाटेरिना स्जाबोले चार स्वर्ण पदक जितेका थिए।

नेइमार (फुटबल)

बार्सिलोनाका सुपरस्टार नेइमारले फाइनलमा जर्मनीसँग १–१ को बराबरी खेल्दा गोल गर्नुका साथै पेनाल्टी सुटआउटमा निर्णायक गोल ठोकेर ब्राजिललाई ओलम्पिक फुटबलमा पहिलोपटक स्वर्ण पदकको खुसी दिलाए। माराकाना रंगशालाको स्ट्यान्डमा दर्शकका रुपमा एथलेटिक्सका सुपरस्टार उसेन बोल्ट उपस्थित थिए। नेइमारले फ्रि–किकबाट गोल गरेपछि बोल्टतिर फर्किएर बोल्टकै शैलीमा 'लाइटनिङ बोल्ट' पोज दिएका थिए। 'मेरो जीवनमा भएकामध्ये यो सबैभन्दा सर्वोत्कृष्ट कुरा हो। हामीले ओलम्पिक जितेका छौं, अव समस्याहरू पनि विस्तारै कम हुँदै जालान्,' कप्तानका रूपमा ब्राजिललाई ओलम्पिक स्वर्णको बाटोमा डोर्‍याएका नेइमारले भने।

असफलहरू

नोभाक जोकोभिच (टेनिस)

टेनिसका विश्व नम्बर एक पुरुष खेलाडी जोकोभिच अहिले करिअरको उच्च फर्ममा थिए। त्यसैले उनलाई यसपालि रियो ओलम्पिकमा स्वर्णको मुख्य दावेदारमा लिइएको थियो। तर पहिलो चरणमै हँुवा मार्टिन डेल पोर्टोसँग पराजित हुँदा उनी ओलम्पिकको एक खेलमै सीमित भए। पहिलो चरणबाटै बाहिरिएपछि २९ वर्षे जोकोभिचले आँसु बगाउँदै प्रतियोगितास्थल छोडनुपर्‍यो। रियोको असफलतापछि ओलम्पिक इतिहासमा जोकोभिचको सबैभन्दा ठूलो उपलब्धि २००८ को बेइजिङ ओलम्पिकमा जितेको कांस्य पदक हुन पुगेको छ।

ली चोङ वेई (ब्याडमिन्टन)

मलेसियाका लीले लगातार तेस्रोपटक ब्याडमिन्टनको फाइनलमा पराजय भोग्नुपर्‍यो। विश्व नम्बर एक खेलाडी लीलाई चीनका सेन लङले सोझो सेटमा पाखा लगाए। 'आजको हारपछि मलाई आफ्नो खेलजीवन र भाग्यप्रति निकै गुनासो हुन थालेको छ,' दोस्रो वरीयताका सेनसँग पराजित भएपछि लीले भने। लीमाथिको जितपछि सेन पहिलोपटक ओलम्पिक च्याम्पियन भए। जबकि लीले भने अहिलेसम्म विश्व च्याम्पियनसिप वा ओलम्पिकमा एउटै स्वर्ण पदक जित्न सकेका छैनन्। एउटै विश्वस्तरको स्वर्ण पदकबिना उनले संन्यास लिने भएका छन्।

क्यामरुन म्याकइभोए/केट क्याम्पवेल (पौडी)

१ सय मिटर फ्रिस्टाइल पौडीमा दाबेदार मानिएका अस्ट्रेलियाका दुई पौडीवाज म्याकइभोए र क्याम्पवेल यसपालि रियोमा असफल हुने खेलाडीको सूचीका उल्लेख्य नाम हुन्। म्याकइभोए अप्रिलसम्म पनि आफ्नो स्पर्धाको विश्व वरीयताको पहिलो स्थानमा थिए। तर ओलम्पिकको असफलतापछि उनी सातौं स्थानमा झरेका छन्। यसैगरी विश्व कीर्तिमानधारी क्याम्पवेलले ओलम्पिकको स्पर्धा छैटौं स्थानमा रहेर सम्पन्न गरे।

आरोन कुक (तेक्वान्दो)

बेलायतका पूर्व नम्बर एक तेक्वान्दो खेलाडीले यसपालि माल्दोभालाई प्रतिनिधित्व गर्दै रियो ओलम्पिकमा सहभागिता जनाएका थिए। रियोमा वेल्टरवेटको स्पर्धामा उनले दोस्रो वरीयता पाएका थिए। तर उनी पहिलो चरणमै पराजित भएर प्रतियोगिताबाट बाहिरिए। लन्डन २०१२ मा बेलायती छनोटकर्ताले विवादास्पद रूपमा उनलाई बेवास्था गरेका थिए। बेइजिङ ओलम्पिक २००८ यता उनको यो पहिलो ओलम्पिक सहभागिता हो। 'म अत्यन्तै दुःखित छु। म र मेरा मातापिताले गरेका सबै कडा मिहिनेत र त्याग खेर गएको छ। यो प्रदर्शनबाट मैले आफ्ना सबैको शीर निहुर्‍याएको छु। मलाई माफ गर्नुस्,' उनले भनेका थिए।

रेनाउड लाभिलेनी (एथलेटिक्स)

पोलभल्टका विश्व कीर्तिमानी एवं साबिक विजेता फ्रान्सेली खेलाडीले ब्राजिलका थियागो ब्राज डा सिल्भासँग नसोचेको स्तब्धतापूर्ण हार बेहोर्नुपर्‍यो। खेलदौरान तथा रजत पदक थाप्ने क्रममा रंगशालामा उपस्थित ब्राजिली दर्शकले उनको निकै अपमान गरेका थिए। जसका कारण उनले पदक थाप्ने क्रममा आँसु झार्नुपरेको थियो।

प्रकाशित: ९ भाद्र २०७३ ०२:५२ बिहीबार

रियो ओलम्पिकका सफल असफल खेलाडी