खेल

तेस्रो टाइगर कप भलिबल: आर्मीमाथि गण्डकीको प्रतिस्पर्धात्मक जित

आर्मीका खेलाडीको स्पाईक ब्लक गर्ने प्रयास गर्दै गण्डकी प्रदेशका खेलाडीहरु। तस्बिर उमेश पुन/नागरिक

विभागीय क्लब त्रिभुवन आर्मीमाथि गण्डकी प्रदेशले प्रतिस्पर्धात्मक एवं रोमाञ्चक जित निकालेको छ। बुधबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले उत्कृष्ट पुनरागमन गर्दै ३–२ को सेटमा जित आत्मसात गर्यो।

टाइगर ग्रुपको आयोजनामा सञ्चालित तेस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा पाँचौ तथा निर्णायक सेटमा गण्डकी प्रदेशले त्रिभुवन आर्मीलाई पन्छायो। १३–१२ को अवस्थामा रहेको गण्डकीले लगातार तीन अंक जोड्दै आर्मीमाथि सनसनीपूर्ण जित निकाल्यो। आर्मीका स्पाईकर धनबहादुर भट्टले हानेको पावरफुल स्पाईक कोर्ट बाहिर पुगेपछि गण्डकीले निर्णायाक सेट १५–१३ ले आफनो पक्षमा पार्दै जितको खुशी मनायो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले गण्डकीमाथि पहिलो सेट जित्दै दवाव बनायो। पहिलो सेट  गण्डकीले  २३–२५ मा गुमाएको थियो। पहिलो सेट गुमाए पनि विचलन नभएको गण्डकीले दोस्रो सेट भने २५–२३ मै लिएर खेलमा फर्कियो। १–१ सेटको बराबरीले दर्शकलाई समेत उर्जा थपियो। तेस्रो सेट आर्मीले आफनो पकड बनायो। गण्डकीले तेस्रो सेटलाई २३–२५ मै आर्मीलाई सुम्पियो। आर्मीको मनोबल निकै उच्च रह्यो। तर चौथो सेटमा भने गण्डकी खेलमा फर्कियो। चौथो सेटलाई २५–२२ को स्कोरमा लिएपछि खेल निर्णायक सेटमा पुग्यो।

घरेलु दर्शकको अपार समर्थन थियो। घनश्याम चौधरी, रवि केसी, हरि पाण्डे र अग्ला कदका विदेशी खेलाडी नितिनको स्पाईक र ब्लकमा निर्णायक सेट गण्डकीले सानदार पुनरागमन गर्दै लियो। १२–१३ ले पछि परेको अवस्थामा गण्डकीका लागि हरि पाण्डेको सर्भिसमा लगातार तीन अंक जोड्यो। जितको खुशी मनाउँदा गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच घोषित हुदाँ रवि केसी उत्कृष्ट स्पाईकरबाट पुरस्कृत भए।

महिला तर्फको प्रतिस्पर्धामा विभागीय डर्बीमा सधै झैं आर्मीमाथि सशस्त्र हावी बन्यो। सशस्त्रले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्यो। पहिलो सेट २५–१६ मा लिएको सशस्त्रले दोस्रो सेट २२–२५ को अवस्थामा गुमाउन पुग्यो। तेस्रो सेट २५–१६ र चौथो सेट २५–१५ मा लिदैं महिला भलिबलमा सशस्त्रले आफनो एकछत्र रजाँईलाई स्थापित गरेरै छाड्यो।  

प्रकाशित: ११ माघ २०७९ ११:५३ बुधबार

तेस्रो टाइगर कप भलिबल