खेल

आरसिटी र सातदोबाटो विजयी

काठमाडौं- रानीपोखरी कर्नर टिम (आरसिटी)ले सोमबार शहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्तीलाई २–० हराउँदा रिपु भुलनको २ गोलप्रेरित सातदोबाटोले युथ क्लबले ब्वाइज युनियन क्लबलाई ३–० ले पराजित गरेको छ।

हलचोक स्थित सशत्र प्रहरीको मैदानमा भएको पहिलो खेलमा नयाँ बस्तीले थुप्रै अवसर बनाए पनि गोलमा परिणत गर्न नसक्दा अंक गुमाउनु पर्‍यो। ७० मिनेटसम्म गोलरहित बराबरी खेलेको आरसिटीलाई नयाँ बस्तीका दिपेश थापामगरले आत्मघाती गोल उपहार दिएका थिए।

नयाँ बस्तीका दिपेशको आत्मघाती गोलमा अग्रता लिएको आरसिटीका लागि अन्तिम मिनेटमा सौजन राईले गोल गर्दै ३ अंक सुनिश्चित गरेका थिए।

हलचोकमै भएको दोस्रो खेलमा सातादोबाटोको जितमा रिपुले निर्णायक भुमिका खेले। आफैले २ गोल गरेका रिपुले अर्कोमा गोलको अवसर सिर्जना गरिदिएका थिए।

२८औं मिनेटमा रिपुले करिव ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।  ६३औं मिनेटमा रिपुको पासमा सुमन थापामगरले सातदोबाटो अग्रता दोब्बर पारे। खेल सकिन १२ मिनेट बाँकीमा रिपुले अर्को गोल थप्दै टोलीको जित पक्का गरेका थिए।

 

प्रकाशित: ७ भाद्र २०७३ ०४:११ मंगलबार

आरसिटी सातदोबाटो