खेल

सुमित र गणेशमानको अग्रता

काठमाडौं- चितवनका सुमित पन्त र भक्तपुरका गणेशमान दुवालले ललितपुरमा जारी सिवानी एयर रेटिङ बुद्धिचाल प्रतियोगितामा अग्रता लिएका छन्। प्रयागपोखरीस्थित जिल्ला खेलकुद विकास समितिको भवनमा जारी प्रतियोगितामा सोमबार चौथो चरणसम्म खेल सकिँदा सुमित र गणेशमान समान ४ अंकसाथ अगाडि छन्।

ललितपुरका सञ्जय महर्जन र काठमाडौंका सुरज पण्डितलाई हराएका सुमितले चौथो चरणमा ललितपुरका भेट्रान रवीन्द्र शाक्यमाथि जित दर्ता गरेका थिए। गणेशमानले कास्कीका सुनील कोइराला, भक्तपुरका केशव मानन्धर र राष्ट्रिय भेट्रान च्याम्पियन जर्नादन श्रेष्ठलाई हराएका थिए।

दोस्रो चरणमा भक्तपुरका दामोदर गाइजुसँग बराबरीमा रोकिएका शीर्ष खेलाडी रिजेन्द्र राजभण्डारीले तेस्रो तथा चौथो चरणमा झापाका अविरल राई र दोलखाका आशिष फुँयाललाई हराउँदै साढे ३ अंक बटुलेका छन्। झापाका प्रकाश नेपालले अन्नपूर्ण माविका मिलन लामालाई हराए। रिजेन्द्र र प्रकाशको समान अंक छ।

भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठले सोमबार प्रकाश नेपाल र काठमाडौंका सुमन लामासँग बराबरी खेले। कैलालीका दीर्घराज जोशीले मिलन लामा र अनरेटेड सविन चन्द्र घिमिरेसँग बराबरी खेलेका थिए। पूर्व राष्ट्रिय च्याम्पियन नवीन तण्डुकारले केशव मानन्धरलाई हराए भने भक्तपुरकै दामोदर गाइजुसँग बराबरी खेले।

चार चरणसकिँदा रवीन्द्र शाक्य, जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, सुमन लामा, दीर्घराज जोशी, सविनचन्द्र घिमिरे, नवनि तण्डुकार, विजय जाती, कमल श्रेष्ठ, विवेक श्रेष्ठ, दामोदर गाइजु तथा सुमन राईको समान ३ अंक छ।

आशिष फुँयाल, मिलन लामा, फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, अविरल राई, रुकुमका सुबोधराज शेर्पाली, सप्तरीका नवीनकुमार चौधरी र सन्जिव कुमार चौधरीले समान साढे २ अंक बटुलेका छन्।

प्रकाशित: ७ भाद्र २०७३ ०४:०८ मंगलबार

सुमित गणेशमानको अग्रता