खेल

भलिबलमा श्रीनगरलाई उपाधी

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सम्पन्न भलिबल प्रतियोगितामा श्रीनगर भलिबल संघले उपाधी जितेको छ। पाणिनी गाउँपालिका–२, पोखराथोकको आई लभ यु युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाईनलमा अर्घाखाँची बुलेटिनको समूहलाई पराजित गर्दै पाल्पाको श्रीनगर भलिबल संघ विजयी भएको हो।

फाइनल खेलमा पाल्पाले अर्घाखाँची बुलेटिनलाई तिन सेटमा क्रमशः २५–१०, २५–२१ र २५–१७ ले पराजित गरेको हो। जितसंगै श्रीनगरले नगद एक लाख १ हजार एक सय ११ रुपैयाँ सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। खेलप्रेमीले खचाखच भरिएको पोखराथोकको मैदानमा आत्मविश्वासका साथ मैदानमा उत्रिएको अर्घाखाँची बुलेटिनको टिम उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

बुलेटिनले नगद ६० हजार छ सय ६६ रूपैयाँ र तृतिय हुने परिवर्तीत युवा क्लबले ४० हजार चार सय ४४ रूपैयाँ सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाएका छन्। प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो।

पहाडी क्षेत्रमा निकै लोकप्रिय मानिएको भलिबल खेलप्रतिको घट्दो आकर्षण बढाउन र राष्ट्रिय खेलाडी उत्पादनका लागि आई लभ यु युवा क्लब पाणिनीले प्रतियोगिताको आयोजना गरेको हो। कोरोना पश्चात सुस्ताएको खेल क्षेत्रलाई फेरी जगाउन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लोकराज रसाईलीले बताए।

प्रकाशित: १० माघ २०७९ १०:३५ मंगलबार

भलिबल