खेल

रिपिचेजमा पनि निशाको हार

काठमाडौं- नेपाली तेक्वान्दो खेलाडी निशा रावलले रियो ओलम्पिकमा लगातार दोस्रो खेलमा पराजित भएकी छिन्। ओलम्पिकको पहिलो चरणमा निशा ६७ केजी भन्दा माथीको तौल समुहमा चीनकी सुइन झेङसँग २–० ले पराजित भएकी थिइन्। निशालाई हराएकी झेङले लगातार अगाडी बढने क्रममा उनले स्वर्ण पदक जितिन्। झेङले फाइनलमा मेक्सिकोकी मारिया इस्पिनोजालाई ५–१ ले हराएकी थिइन।

झेङले स्वर्ण जितेपछि निशाले रिपिचेजका लागी अवसर पाएकी थिइन। निशालाई हराउने प्रतिद्धन्द्धी फाइनलमा पुगेको कारण निशाले प्रतियोगितामा पुन अर्को खेल खेल्ने अवसर पाएकी थिइन्। र त्यो अवसर खेलमा निशा फ्रान्सकी वाल्डेज इपाङग्सँग क्वाटरफाइनलमा ४–३ ले पराजित भईन्।

खेल जित्न नसकेपनि निशाले फ्रान्सकी वाल्डेजलाई कडा चुनौति दिएकी थिइन्। सुरुआती खेल हारेपछि निशाले अर्को खेल खेल्न पाउने वा नपाउने बारेमा नेपाली तेक्वान्दो व्यवस्थापन टोली नै अन्योलमा थियो। तर पछि निशाले पुन अर्को खेल खेल्ने मौका पाइन।

निशालाई हराएकी फ्रान्सकी वाल्डेज सेमिफाइनलमा अमेरिकाकी ज्याकी गाल्लोवेसँग २–१ ले पराजित भइन।

निशाको पराजयसँगै रियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ। रियो ओलम्पिकमा निशासँगै नेपालको सात खेलाडी प्रतिस्पर्धा गरेको थिए।  रियो ओलम्पिकमा पौडीका शिरिष गुरुङ र एथलेटिक्सकी सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान बनाएका थिए। शिरिषले पौडीको १०० मिटर फ्रिस्टायल र सरस्वतीले १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन्। शिरिष र सरस्वती दुबै त्रिभुवन आर्मीको जर्सीमा घरेलु प्रतियोगिता खेल्ने गर्छन। उनीहरुको कीर्तिमान नै नेपालले रियो ओलम्पिकमा हासिल गरेको उपलब्धी जनक नतिजा हो। त्यस्तै ओलम्पिकमा पौडीमा प्रतिस्पर्धा गरेकी नेपाली खेलाडी गौरिका सिंह रियोमा सबै भन्दा कान्छी खेलाडीका रुपमा चर्चित भइन। रियो ओलम्पिक सुरु हुनु अघि चर्चित भएकी गौरिका अहिले १३ वर्ष पुगेकी छिन।

'तयारी अनुसार नतिजा कस्तो आउछ भन्ने अनुमान गर्न सकिन्छ। ओलम्पिकको लागी निशाले राम्ररी तयारी गर्न पाएको थिएन। तर उसले तयारी र क्षमता अनुसार राम्रो खेलिन। हाम्रो लागी त्यही खुसीको कुरा हो,' ओलम्पियन दिपक विष्टले भने, 'क्वाटरफाइनलमा निशाले फ्रान्सकी खेलाडीलाई कडा चुनौति दिइन। पहिलो खेलमा विश्व नम्बर एक खेलाडीसँग परेपनि उसले धेर्यताका साथ खेलेकी थिइन।'

रियो ओलम्पिकका लक्षित गरेर अन्तराष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृत्ति पाएपनि निशा तयारीबाट सन्तुष्ट थिइन। नेपाल तेक्वान्दो संघले निशाको लागी उच्च स्तरको वैदेशिक प्रशिक्षणको व्यवस्था गर्न सकेको थिएन। उनले लगनखेल स्थित आर्मीको फिटनेस सेन्टरमै रियो ओलम्पिकको अन्तिम तयारी गरेकी थिइन।

विष्ट ओलम्पिकमा नेपाली खेलाडी बलियो खेलाडीसँग पर्ने संयोग हुने गरेको बताउँछन। दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण र एसियाली खेलकुदमा २ कास्य पदक जितेका उनले भने, 'नेपाली खेलाडीले तयारी अनुसार राम्रो गर्ने कोसिस गरेको छन। तर सबै खेलाडी नम्बर एक खेलाडीसँग पर्ने गरेको छन। संगीना चाइनिज ताइपेइसँग र म इरानको खेलाडीसँग सुरुआतमै प्रतिस्पर्धा गरेको थिए। संगीना र मलाई हराउने दुबैले स्वर्ण जितेका थिए।'

ओलम्पिक र एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खेलाडी पदक भन्दा टाढा नभएको विष्ट बताउँछन। उनले भने, 'हामी ओलम्पिक र एसियाली खेलकुदको पदक भन्दा टाढा छैनौं। हाम्रो मानसिकतामात्र टाढा छ। योजना अनुसार तयारी भए नेपाली खेलाडीले ओलम्पिकमा पदक जित्न सक्छन।'

विष्टले थपे, 'अरु खेलाडीले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने भन्छन्। तर तेक्वान्दो खेलाडी पदक जित्ने लक्ष्य राख्छन्। खेलाडी र व्यवस्थापनको तालमेल मिलेको छैन।'

प्रकाशित: ६ भाद्र २०७३ ०३:१५ सोमबार

रिपिचेजमा निशाको हार