फिडे मास्टर रूपेश जैसवालले अन्नपूर्ण क्लब(आरसिटी) खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
अन्नपूर्ण क्लब (आरसिटी)को ९०औं वार्षिकोत्सवको अवसरमा आयोजित शनिबार सम्पन्न प्रतियोगितामा रूपेशले सात जित र दुई बराबरी गर्दै कुल आठ अंकसहित उपाधि जितेका हुन्। च्याम्पियन रूपेशले ३० हजार रूपैयाँ नगद पुरस्कार पनि पाए। उनले आठौं चरणमा फिडे मास्टर क्षितिज भण्डारी र नवौं चरणको खेलमा नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईसँग बराबरी खेलेका थिए। नेपाल च्याम्पियन पुरुषोत्तम भने दोस्रो स्थानमा रहे। चौथो चरणको खेलमा पराजित पुरुषोत्तमले बाँकी खेलमा राम्रो नतिजा आत्मसात गर्दै सात खेलमा सफलतासहित साढे सात अंक बटुले।
पुरुषोत्तमले आठौं चरणमा ललितपुरका सरोज महर्जनलाई पराजित गरे। उनले नगद २० हजार रूपैयाँ पाए। फिडे मास्टर क्षितिज भण्डारी सात अंकसहित तेस्रो स्थानमा रहे। उनले १० हजार रूपैयाँ नगद पुरस्कार हात पारे। काठमाडौंका सुमन लामा चौथो, ललितपुरका सरोज महर्जन पाँचौं, सजिन महर्जन छैटौं स्थानमा रहँदै क्रमशः सात हजार, पाँच हजार र चार हजार रूपैयाँ हात पारे। महिलातर्फ काठमाडौंकी विनिता कपाली पहिलो र सिन्दिरा जोशी दोस्रो स्थानमा रहिन्। दुवैको समान ६ अंक नै भए पनि प्रोग्रेसिभ टाइ ब्रेकको आधारमा विनिताले सिन्दिरालाई पछि पारेकी हुन्। झापाकी पुनम प्रसाईं तेस्रो स्थानमा रहिन्।
भेट्रानतर्फ भक्तपुरका गणेशमान दुवाल, काठमाडौंका जनार्दन श्रेष्ठ र पुण्यमान कर्माचार्य शीर्ष तीन स्थानमा रहे। यु–१६ मा सुप्रभसागर श्रेष्ठ र यु–१४ तर्फ पुरुषोत्तम सिलवालले सफलता पाए। छात्रतर्फ तिलिङटार माविका पूर्णिमा गुरुङ पहिलो भइन्। विजेतालाई प्रदेशसभा सांसद हरिप्रभा श्रेष्ठ खड्गीले पुरस्कार प्रदान गरिन्।
प्रकाशित: ८ माघ २०७९ ००:५५ आइतबार