खेल

तेस्रो टाईगरकप भलिबल च्याम्पियनसिप: गण्डकी प्रदेश र नेपाल प्रहरी बीच पहिलाे खेल

पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग उदघाटन खेल्दै पोखरामा आईतबारदेखि तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप सुरु हुदैं छ। गण्डकी प्रदेश पहिलो संस्करणको विजेता टोली समेत हो।  

टाईगर ग्रुप पोखराको आयोजना तथा नेपाल भलिबल संघको सहयोगमा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्यिनसिपमा स्वदेशीसँगै विदेशी क्लबले पनि उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए।  

महिला तर्फको प्रतिस्पर्धामा भने नेपाल पुलिस क्लबको उपस्थिति रहने छैन्। पुलिसको अनुपस्थितिले गण्डकी प्रदेश महिला टोलीलाई समावेश गरिएको छ। टोलीको कप्तान नेपाल महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुण शाहीले गर्ने छन्। उनीसँगै तीन भारतीय खेलाडीले पनि पोखरा रंगशालाको कोर्टमा गण्डकी प्रदेशको जर्सी लगाउने अध्यक्ष शर्माले सुनाए। ‘तीन भारतीय खेलाडी महिला टोलीमा समावेश छन्’ उनले भने–‘भारतीय खेलाडीको अनुभवलाई साट्ने अवसरको रुपमा लिने विश्वास छ।’  

महिला तर्फ ४ टोलीले मात्रै राउण्ड रोविनमा प्रतिस्पर्धा गर्ने छन्। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीबलको एपीएफ, होङवान्जी न्यु डायमण्ड स्पोर्टस क्लब र गण्डकी प्रदेश बीच प्रतिस्पर्धा हुने छ। दुई भारतीय टोलीको भने सहभागिता नरहने आयोजकले जनाएका छन्। राउण्ड रोविनमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टोलीसँग सेमिफाईनल खेल्ने छ। त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहेको टोलीले दोस्रो सेमिफाईनल खेल्ने छन्। विजेताले फाईनल प्रतिस्पर्धा गर्दा हारेका दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने प्राविधिक संयोजक टहलसिंह थापामगरले बताए।  

महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने छन्। पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच हुनेछ। पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ। दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र पुरुषतर्फ नेपाल आर्मीले उपाधि जितेका थिए।  

टाईगर ग्रुपले तेस्रो संस्करणमा आईपुग्दा पुरस्कार राशीमा बढोत्तरी गरेको छ। महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद  २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने सस्थाका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए। उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगितामा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। विधागत उत्कृष्टलाई खेल सामग्री प्रदान गरिने छ। प्रतियोगिताको ८० लाख रुपैया खर्च हुने अनुमान टाईगर ग्रुपले गरेको छ।  

सुश्री मिडिया प्राली काठमाण्डौको विशेष समन्वय तथा राष्ट्रिय खेलकुद परिषद, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकाको सहयोगमा रहेको प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्ने छन्।  

प्रकाशित: ७ माघ २०७९ ११:४९ शनिबार

टाईगर ग्रुप पोखरा रंगशाला भलिबल