खेल

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट: सुदुरपश्चिम प्रदेशलाई उपाधि

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ।

शनिबार इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिमले उपाधि जितेको हो।

प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्य सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो।

सुदुरलाई उपाधि दिलाउन सम्झना खड्काले अविजित २७ रन, डोली भट्टले २२  रन बनाए।कविता जोशी १९ र कविता कुँवरले १२ रन बनाए।

प्रदेश-१ का सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १र१ विकेट लिए।

पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन्।

यस्तै अप्सरी बेगमले १५ रन र कप्तान रुबिना क्षेत्रीले १४ रन जोडे। सुदुरकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिइन्।

उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन्।

प्रकाशित: ७ माघ २०७९ ०९:२८ शनिबार

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट