खेल

मेसीले छोडेपछि बार्सिलोनालाई पहिलो उपाधि

दुई वर्षको अन्तरालपछि पहिलो उपाधि उचालेपछि बार्सिलोनाका खेलाडी ।तस्बिर: एएफपी

युवा खेलाडी गाभीको प्रेरणादायी प्रदर्शनप्रेरित बार्सिलोनाले आइतबार चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई पराजित गर्दै झन्डै दुई वर्षको अन्तरालपछि पहिलो उपाधि जित्यो। यस क्रममा बार्सिलोनाले रियालमाथि ३–१ को सहज जितसहित स्पेनिस सुपर कप उचाल्यो।

१८ वर्षका गाभीले बार्सिलोनाको सहज जितमा एक गोल गर्नुका साथै रोबर्ट लेवान्डोवस्कीलाई गोलका लागि पास उपलब्ध गराएका थिए। त्यस्तै पेड्रीले थप एक गोल गरेका थिए। रियालका लागि करिम बेन्जिमाले गरेको गोल सान्त्वना साबित भयो। रक्षक रोनाल्ड अरूजोले भिनिसियस जुनियर र एलेजान्ड्रो बाल्डीलाई रोक्न सफल भएका थिए।

‘बार्सिलोनाको नयाँ युगको सुरुआत भएको छ,’ अरूजोले भने।  

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीको बहिर्गमनपछि बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो। मेसी क्लबको आर्थिक संकटका कारण २०२१ मा फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएका थिए। यसअघि मेसीकै प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले आफूलाई स्पेनिस ला लिगा र घरेलु फुटबलका साथै युरोपमा समेत सधैं प्रबल दाबेदारको रूपमा उभ्याउँदै आएको थियो।  

बार्सिलोनाले यसै सिजन जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिखबाट पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई भित्र्याएको थियो। त्यस्तै जाभीको टोलीले ज्युल्स कौन्डे र राफिन्होलाई पनि यसै सिजनका लागि क्लबमा भित्र्याएको थियो।

युरोपियन फुटबलमा २००९, २०११ र २०१५ मा राज गरेको बार्सिलोनामा अहिले त्यो सफलता हात पार्दाको टोलीका केही भेट्रान खेलाडी मात्रै बाँकी छन्।

जाभी पनि बार्सिलोनाले युरोपियन फुटबलमा राज गर्दाको टोलीको महŒवपूर्ण सदस्य थिए। जसलाई अहिले टोलीको पुनर्निर्माणको लक्ष्यलाई सार्थक बनाउने जिम्मेवारी दिइएको छ। जाभी टोलीमा रहँदा बार्सिलोनाले तेहेरो उपाधि जितेको थियो। तर जोन लापोर्टा क्लब अध्यक्ष भएर आउँदा भने टोली निकैै संकटमा थियो।

जाभीको टोलीमा अहिले युवा खेलाडीको बाहुल्य छ। जसमा गाभी र पेड्री प्रमुख खेलाडीका रूपमा रहेका छन्। अरूजो र कोन्डे पनि प्रभावशाली देखिएका छन्। १९ वर्षका बाल्डेले जोडी अल्वाको स्थान लिइसकेका छन्। त्यस्तै अंशु फाती कुनेै दिन टोलीका स्टार खेलाडी बन्ने आशा बार्सिलोनाले मारिसकेको छैन। फातीले सेमिफाइनलमा रियाल बेटिसविरुद्ध उत्कृष्ट गोल गरेका थिए।

गाभी रियालविरुद्ध निकै हाबी देखिएका थिए। ३३औं मिनेटमा गाभीले बार्सिलोनाका लागि गोल खाता खोलेका थिए। ४५औं मिनेटमा गाभीकै पासमा रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। ६९औं मिनेटमा पेड्रीले बार्सिलोना लागि तेस्रो गोल गरेका थिए। इन्जुरी समयको तेस्रो मिनेटमा बेन्जिमाले रियालका लागि सान्त्वना गोल गरे।

‘गाभीले निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन्,’ प्रशिक्षक जाभीले भने, ‘उनी टोलीका मŒवपूर्ण सदस्य हुन्। उनको उपस्थितिले टोलीमा ठूलो अर्थ राख्छ। १८ वर्षको उमेरमा उनको प्रदर्शन अब्बल छ। आगमी दिनमा उनकै प्रदर्शनमा टोली पुनर्निर्माणको लक्ष्यले पूर्णता पाउनेमा विश्वस्त छु।’

प्रकाशित: ३ माघ २०७९ ०१:५७ मंगलबार

बार्सिलोना