खेल

शिरीषको राष्ट्रिय कीर्तिमान

काठमाडौं– कीर्तिमानी पौडीवाज शिरीष गुरुङले रियो ओलम्पिकअन्र्तगत १०० मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

१३ वर्षदेखि पौडीमा सक्रिय शिरीषको भोलि बुधबार (साउन २६) १९औं जन्मदिन हो । त्यसको केही घन्टाअघि मात्र उनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोडेका छन् । रियोको ओलम्पिक अक्वास्टिक सेन्टरमा शिरीषले १०० मिटर फ्रिस्टाइल ५७.७६ सेकेन्डमा पूरा गरे। उनकै नाममा ५८.२२ सकेन्डको कीर्तिमान थियो ।त्यो उनले १६औं फिना विश्व पौडी च्याम्पियनसिपमा बनाएका हुन् ।

हिट नम्बर दुईमा शिरीषसहित ८ खेलाडी प्रतिस्पर्धामा थिए । कीर्तिमानमा सुधार गरेपनि उनले पहिलो चरण पार गर्न सकेनन् । आफ्नो हिटमा पुछारमा रहेका उनीसमग्रमा ५८औं स्थानमा रहे । उनी पछाडि इथियोपियाका रोबेल किरोस हब्टे (१ः०४.९५) मात्र  थिए ।

४६ पटक राष्ट्रिय कीर्तिमान सुधार गरेका शिरीषको नाममा १५ राष्ट्रिय कीर्तिमान कायमै छ । रियो जानुअघि नागरिकसँगको संवादमा पनि राष्ट्रिय कीर्तिमान बनाउनेमा उनी ढुक्क देखिएका थिए । ‘सहभागितामात्र मेरो लक्ष्य होइन,’ ब्राजिल जानु एक दिनअघि शिरीषले भनेका थिए, ‘यसपालि राष्ट्रिय कीर्तिमान तोडेर अन्तर्राष्ट्रिय कीर्तिमान पछ्याउने कोसिस गर्नेछु ।’ पहिलो चरणका उत्कृष्ट १६ ले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

शिरीषको नाममा हाल १ हजार ५ सय मिटर फ्रिस्टायल, ८ सय मिटर फ्रिस्टायल, ४ सय मिटर फ्रिस्टायल, २ सय मिटर फ्रिस्टायल र १ सय मिटर फ्रिस्टायलको राष्ट्रिय कीर्तिमान छन् । यसैगरी २ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्याकस्ट्रोक, २ सय मिटर बटरफ्लाई, २ सय मिटर ब्रेस्टस्ट्रोक, ४ सय मिटर व्यक्तिगत मिड्ले, २ सय मिटर व्यक्तिगत मिड्ले, ४ गुणा १ सय मिटर रिले, ४ गुणा ५० मिटर रिले र ४ गुणा १ सय मिटर व्यक्तिगत मिड्ले रिलेमा राष्ट्रिय कीर्तिमान रहेका छन् ।

उनले यसअघि २०१४ एसियन गेम्स, २०१५ फिना बर्ड च्याम्पियनसिप र २०१५ दुबई विश्वकपमा सहभागी भएका थिए ।

यता  रियो ओलम्पिकमा नेपालबाट आर्चरीमा सहभागी जितबहादुर मोक्तान मंगलबार भारतका अतानु दाससँग ८८–७६ स्कोर अन्तरले पराजित भएका छन्।

आधा शताब्दीभन्दा लामो ओलम्पिक यात्रामा नेपालले आर्चरीमा सहभागिता जनाएको यो पहिलो हो ।

पुरुष व्यक्तिगत इभेन्टमा भारतकाअतानुले तीनै सेटमा समान २–२ अंक बटुलेका थिए भने जितबहादुरले अंक लिन सकेनन् ।

जितबहादुरले पहिलो सेटमा २६, दोस्रोमा २४ र तेस्रोमा २६ स्कोर गरेका थिए । भारतका अतानुले पहिलो र दोस्रोमा २९–२९ स्कोर गरेका थिए भने अन्तिम सेटमा ३० स्कोर गरेका थिए ।

प्रारम्भिक (¥याङकिङ) चरणमा ६ सय७ स्कोर गरेका जितबहादुर ६० औं स्थानमा रहेका थिए । भारतका अतानु ६ सय ८३ स्कोर बटुल्दै पाँचौं स्थानमा रहन सफल भएका थिए । अतानुले अब अन्तिम ३२ मा क्युबाका पुन्टेस परेज एड्रिन आन्द्रेससँग प्रतिस्पर्धा गर्नेछन् ।

जितबहादुरले बंगलादेशमा सम्पन्न ११औं सागमा टिम इभेन्टमा कांस्यपदक जितेका थिए । तर ६ महिनाअघि भारतमा सम्पन्न १२ औं सागमा भने उनी पदकविहीन रहे।

 

प्रकाशित: २६ श्रावण २०७३ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App