खेल

रियोको पोखरीमा कीर्तिमानी सपना

काठमाडौं- एघार वर्षे नेपाली किशोरले ओलम्पिक खेल्ने सपना देख्नु अनौठो लाग्छ। तर उनले देखे। महाकवी लक्ष्मीप्रसाद देवकोटाको कविता जस्तै। उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। त्यही ठिटो हुन् रियो ओलम्पिकमा पौडीबाट प्रतिस्पर्धा गर्ने दुई नेपालीमध्ये एक शिरीष गुरुङ।

५ वर्षको उमेरबाटै शिरीषले पौडी खेल्न थालेका हुन्। विद्यालयस्तरमा भएको प्रतियोगिताअर्न्तगत ‘योङ्गेस्ट प्लेयर’ को उपाधि जितेपछि शिरीषलाई पौडीमा केही गर्न सकिन्छ भन्ने लागेको हो। विद्यालयस्तरमा एकपछि अर्को सफलता पाउन थालेपछि हौसिएका उनले राष्ट्रिय स्तरमा पनि पदक जित्न सफल भए। त्यसपछि पौडीमा लत बस्यो उनको। अनि त सपना साँच्न थाले ओलम्पिक खेल्ने।

‘एकपटक स्कुलमा भएको प्रतियोगितामा योङ्गेस्ट प्लेयरको उपाधि जिते। त्यसले मलाई पौडीमा तान्यो,’ केही साताअघिमात्र मासिक १ लाख रकममा भाटभटेनी सुपरमार्केटको ब्रान्ड एम्बेसडर बनेका शिरीषले भने, ‘त्यसपछि स्कुल स्तरमा पदक जित्दै गएँ। राष्ट्रियस्तरमा त्यही सफलता पाउन थालेँ। झनै लगाव बढ्दै गयो। सायद २००९ तिर हुनपर्छ मैले पौडीबारे राम्रो बु‰न थालेको। जबदेखि पौडीबारे राम्रो ज्ञान भयो त्यहीबेलादेखिहो ओलम्पिकको सपना देख्न थालेको। सपना पूरा हँुदैछ। एकदम खुसी छु।’

ब्राजिलमा शुक्रबार सुरु रियो आलम्पिकमा शिरीषले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट सहभागी ७ खेलाडीमध्ये दुईले पौडीको प्रतिनिधित्व गर्छन्। रियोका लागि पौडीमा नेपालबाट राष्ट्रिय कीर्तिमानधारीको सहभागिता हुनेछ भन्दा भन्दा फरक पर्दैन। एउटा उनै शिरीष हुन् भने अर्की गौरिका सिंह। दुवैको नाममा थुप्रै राष्ट्रिय कीर्तिमान छन्। गौरिका त रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बनेर चर्चामा छिन् यतिबेला।

४५ पटक राष्ट्रिय कीर्तिमानमा सुधार गरेका शिरीषको नाममा अहिले १५ राष्ट्रिय कीर्तिमान छ। खेलको कुम्भमेला मानिने ओलम्पिकमा यसपालि कीर्तिमानको अझै नजिक पुग्ने बताउँछन्, शिरीष।

‘सहभागिता मात्र मेरो लक्ष्य होइन,’ ब्राजिल जानु अघि राजधानीमा आयोजित एक पौडीपोखरी उद्घाटनमा शिरीषले भनेका थिए, ‘यसपालि राष्ट्रिय कीर्तिमान तोडेर अन्तर्राष्ट्रिय कीर्तिमानलाई पछ्याउने कोसिस गर्नेछु।’

१०० मिटर फ्रिस्टाइलको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ। उनले ५८.२२ सेकेन्डको कीर्तिमान बनाएका हुन्।१६औं फिना विश्व पौडीमा उनले उक्त कीर्तिमान बनाएका हुन्।

ओलम्पिकको छात्रवृत्तिमा शिरीषले थाइल्यान्डस्थित फुकेटमा एक वर्ष प्रशिक्षण लिएका थिए। उक्त प्रशिक्षणबाट आफूले एउटा ‘प्रोफेसनल स्विमर’ कस्तो हुन्छ भन्ने अनुभव गर्न पाएको उनी बताउँछन्।

‘फुकेटमा धेरै नयाँ विषय सिक्ने मौका मिल्यो। प्राविधिक पक्षबारे ज्ञान लिन पायौं,’ शिरीषले भने, ‘त्यहाँ दिनकै तीनपटकसम्म स्विमिङ गरिन्थ्यो। जुन निकै कठिन काम हो। एक वर्षको अवधिमा एउटा प्रोफेसनल स्विमर कस्तो हुन्छ, त्यसको अनुभव भयो।’

शिरीषले उक्त प्रशिक्षणबाट आफ्नो प्रदर्शनमा सुधार आए पनि ओलम्पिकमा पदक नै जित्न भनेसम्भव नभएको स्विकारे। गत सातामात्र १९औं वर्षमा पाइला टेकेका शिरीषले एक वर्षको प्रशिक्षणबाट धेरै आशा गर्न नहुने बताए।

‘त्यो एक वर्षको तालिमबाट मात्र धेरै ठूलो आशा गर्नु हँुदैन। किनकि एक वर्षको अवधिमा पौडीमा धेरै सुधार गर्न सकिँदैन,’ एसियन गेम्स २०१४, फिना वर्ल्ड च्याम्पियनसिप २०१५ र दुबई विश्वकप २०१५ मा भाग लिइसकेका शिरीषले भने, ‘तर, यसपालि हाम्रो स्तरभन्दा हामी धेरै माथि जान्छौं। राष्ट्रिय कीर्तिमान तोड्नेमा म विश्वस्त छु।’

१२ आंै दक्षिण एसियाली खेलकुद (साग)मा शिरीषले २०० मिटर व्यक्तिगत मिड्ले, ४०० मिटर व्यक्तिगत मिड्ले र २०० मिटर फ्रिस्टायल गरी ३ विधामा प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये ४ सय मिटर फ्रिस्टायलमा पदक जित्नबाट थोरैले मात्र उनी चुकेका थिए। शिरीष चौथो भएका थिए। यस इभेन्टमा नेपाली पौडीवाजले फाइनल चरण खेलेको यसपालि पहिलो भएको हो। उनले यसमा चौथो हुनु पनि उपलब्धिपूर्ण भएको बताए।

सागबाट फर्किएपछि शिरीषले ओङदेन लामा र ईश्वर कार्कीबाट प्रशिक्षण लिएका थिए। प्रशिक्षक कार्कीले पनि अहिल्यै ओलम्पिकबाट पदकआशा गर्नु चाँडो हुने बताए।

‘हामी जुन भौतिक पूर्वाधारमा अभ्यास गरिरहेका छौं त्यसबाट ओलम्पिकमा पदक आशा गर्नु अलि चाँडो हुनेछ। पदकभन्दा राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने हाम्रो लक्ष्य हो,’ कार्कीले भने, ‘१ सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ। उक्त कीर्तिमान सुधार्ने हाम्रो मुख्य उद्देश्य हो।’

शिरीषको नाममा अहिले १५ सय मिटर फ्रिस्टायल, ८०० मिटर फ्रिस्टायल, ४००मिटर फ्रिस्टायल, २०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टायल राष्ट्रिय कीर्तिमान बनाएका छन्। त्यस्तै २०० मिटर ब्याकस्ट्रोक, १०० मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्याकस्ट्रोक, २०० मिटर बटरफ्लाई, २०० मिटर ब्रेस्टस्ट्रोक, ४०० मिटर व्यक्तिगत मिड्ले, २०० मिटर व्यक्तिगत मिड्ले, ४ गुणा १०० मिटर रिले, ४ गुणा ५० मिटर रिले तथा ४ गुणा १०० मिटर व्यक्तिगत मिड्ले रिलेको राष्ट्रिय कीर्तिमान पनि शिरीषकै नाममा छ।

पौडीमा शिरीषसँगै गौरिका सिंहले पनि प्रतिस्पर्धा गर्नेछिन्। गौरिकाले आइतबार १००मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने छिन्। त्यो दिन उनी १३ वर्ष र २ सय ५५ दिन पूरा हुनेछिन्। ६ महिनाअघि भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिकाले १ रजत र ३ कांस्य जितेकी थिइन्। उनले २०० मिटर व्यक्तिगत मिड्लेमा रजन तथा ५०, १०० र २०० मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेकी हुन्।

शिरीषले पोखरीमा जति राम्रोसँग हातखुट्टा चलाउँछन् पढाइमा पनि त्यति दिमाग लगाउँछन्। पौड्नभन्दा पढ्न सजिलो लाग्छ रे उनलाई। डाक्टर बन्ने लक्ष्य छ शिरीषको।पौडीमा अनुशासित शिरीष स्कुलमा भने आफूलाई बदमास विद्यार्थी ठान्छन्।

‘पढ्न दिमाग मात्र लगाए पुग्छ। तर पौडीमा दिमागसँगै शारीरिक बल पनि त्यति नै प्रयोग गर्नुपर्छ,’साइन्समा १२ कक्षा पास गरिसकेका शिरीषले भने, ‘स्कुलमा म बदमास विद्यार्थी हुँ। त्यसै कारण स्कुलबाट घरमा धेरै फोन आउँथ्यो कम्प्लेनका लागि। क्लास धेरै छुट्ने हुँदा धेरै शिक्षकले मलाई मनपराउनुहुन्नथ्यो होला।'

कीर्तिमानी पौडीवाज शिरीष भविष्यको योजना भने मेडिकल डाक्टर बन्नेछ।

प्रकाशित: २३ श्रावण २०७३ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App