खेल

कास्कीको खस्कँदो क्रिकेट

हिजो च्याम्पियन, आज कमजोर। खेलकुदमा समयको परिवर्तनसँगै च्याम्पियन पनि फेरिदैं गएका छन्। कमजोरले सुधार्दै च्याम्पियन बन्ने हकदार बन्छन्। च्याम्पियन पनि खस्कदैं कमजोर बन्न पुग्छन्।  

यस्तै च्याम्पियन र कमजोरको लुकामारीमा छ कास्कीको क्रिकेट। पूर्वाधार छ, प्रशिक्षक छन्। तर नजिता हिजो च्याम्पियन आज कमजोर। अर्थात कास्कीको क्रिकेट विस्तारै खस्कदैं गएको छ। खस्कनु एउटै कारण छ–नियमित प्रतियोगिता नहुनु। कास्की जिल्ला क्रिकेट संघले पूर्वाधारको भरपुर उपयोग गर्न सकेको छैन्। क्लबस्तरीय प्रतियोगितालाई निरन्तरता दिनै सकेको छैन।  

आम्दानीको हिसाबमा वार्षिक लाखौं रुपैयाँ मैदान शुल्कबाट उठ्छ। क्लबले पनि संघलाई प्रतियोगिताको लागि घचघच्याउन सकेको देखिदैन्। यसले क्लब पनि कमजोर बन्दै गएको भान भएको छ। विद्यालयस्तरीय प्रतियोगिता छैन। विद्यालयस्तरीय माथिको प्रतिस्पर्धा पनि छैन्। उमेर समूहको कुनै गतिविधि आयोजना हुदैन्। यसले क्रिकेटको स्तरलाई निकै तल खस्काईदिएको छ।  

‘हामीसँग गेम एक्पोजर छैन्। टिम कमजोर बन्दै गएका छन। गेम एक्सपोज गराउन सकिए क्रिकेटले लय लिने थियो,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल स्वयं स्वीकार्छन, ‘प्रतिस्पर्धा अधिकतम होस भन्ने चाहना हो। तर प्रतिस्पर्धा निकै कम छ।’ आयोजना हुदैं आएको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता रोकिएको छ। कोभिडको समयमा रोकिएको प्रतियोगिताले निरन्तरता पाउन सकेको छैन्।  

क्लबहरुले पनि जिल्ला छनोटको लागि मात्रै प्रतिस्पर्धा गर्छन्। त्यो बाहेक क्लबस्तरीय प्रतिस्पर्धा आयोजना हुनै सकेको छैन्। ‘लिग र नकाउट चरणका खेलहरु हुनुपर्छ’ उनको भनाई थियो, ‘हामीसँग व्यक्तिगत खेलाडी राम्रा छन् तर टिम भने कमजोर छ।’ कास्की जिल्लाको सेन्ट्रल क्रिकेट एकेडेमी छ। एकेडेमीले प्रतियोगिताको अवसर भने पाएका छैनन्। उनीहरुले गेमको एक्पोजर पाएका छैनन्। क्लब कमजोर छन। क्लबलाई म्याच दिन संघले सकेको छैन।  

क्लबपनि आफैंमा कमजोर छन्। आफैले स्रोत व्यवस्थापन गरेर अगाडि बढ्न सकेको अवस्था छैन्। विद्यालयले पनि क्रिकेट प्रति चासो कम दिएको संघको गुनासो छ। खेल्ने मैदान पर्याप्त विद्यालयमा नहुदाँ पनि चासो कम भएको संघको भनाई छ। ‘विद्यालय र एकेडेमीस्तरीय खेल खेलाउन सकिएको छैन’ अध्यक्ष सिग्देल सुनाउँछन, ‘जतिबढी खेल भयो उति बढी एक्सपोजको मौका पाउने हो। एक्सपोजको मौका नपाउँदा खेलको स्तर माथि नउठ्नु स्वभाविक हो।’ क्रिकेटको विकासको लागि टी–२० र एकदिवसीय खेल नियमित हुनुपर्नेमा जोड संघको छ। दुई फरक फम्र्याटको क्रिकेटमा फरक कप्तानको जिम्मेवारी दिएर प्रतिस्पर्धाको लागि तयार पार्नुपर्ने आवश्यकता संघले ठानेको छ।  

जुनसुकै खेलको जग भनेकै विद्यालयस्तरीय प्रतिस्पर्धा हो। विद्यालयस्तरीय प्रतिस्पर्धा नहुदाँ क्लबसम्म आईपुग्दा खेलाडी नै नहुने अवस्था सृजना भएको छ। ‘विद्यालयस्तरीय प्रतिस्पर्धाले खेलाडीलाई क्रिकेटप्रति जागरुक बनाउँछ। सिनियर भएपछि क्लबमा आउँछन्। त्यसपछि क्लब बलियो बन्दै जान्छ,’ सांग्रिला क्रिकेटका अध्यक्ष दिपेन्द्रप्रताप चन्दले भने, ‘क्लबलाई बलियो बनाउन विद्यालयस्तरीय प्रतिस्पर्धा अनिवार्य हुन्छ। जग बलियो बनाउने जुन प्र्रतियोगिता हामीसँग छैन्।’ उनले पछिल्लो समय क्लबहरु टेनिस बल क्रिकेट प्रति आकर्षित हुदाँ पनि ड्युजबल क्रिकेट खस्कदै गएको सुनाए।  

‘क्लब आफैंमा कमजोर छन्। क्लबको आयस्रोत छैन्। आयस्रोत नहुदाँ प्रतियोगितामा सहभागिता जनाउन समेत साथीभाइलाई गुहारेर खेल्नुपर्छ’ अध्यक्ष चन्द भन्छन, ‘आयस्रोत नहुदाँ पोखरा रंगशाला क्रिकेट मैदानको भाडा तिर्न सकिने अवस्था छैन्। भाडा नतिरी खेल्न पाईदैन्।’ उनले पोखरामा फेन्चाईज क्रिकेटका खेलहरु ल्याउनुपर्नेमा जोड दिदैं फ्रेन्चाईज खेलले क्रिकेटको माहोल सृजना गर्छ त्यसले पनि ल्याउनुपर्ने खाँचो औंल्याउँछन्।  

कास्कीका भएका क्लबले जिल्ला छनोट बाहेक अन्यमा प्रतिस्पर्धा छैन्। एकैखाले प्रतियोगितामा मात्रै सीमित हुदैं आएका छन्। ग्रास रुट नहुदाँ अझ बढी समस्या छ। एकेडेमीबाटै खेलाडी उत्पादन हुनुपर्छ । एकेडेमी नै ग्रास रुट हो। ‘कास्कीमा ग्रास रुटको अवस्था कमजोर छ। त्यो कमजोरीलाई हटाउने प्रयास संघको प्रयास छ तर केही ढिलो भएको आभाष भईरहेको छ,’ क्रिकेट प्रशिक्षक रिजन प्रजु भन्छन, ‘ग्रास रुटलाई बढी प्राथमिकतामा राख्नुपर्छ। ग्रास रुट नहुदाँ क्रिकेटको भविष्य राम्रो देखिदैन्।’ खेलेर पास आउट हुदैं गएका छन्। तर नयाँ खेलाडी नआउँदाँ कास्की कमजोर देखिएको उनको ठम्याई छ।

उनको बुझाईमा विद्यालयस्तरीय प्रतिस्पर्धालाई बढी केन्द्रीकृत हुुनुपर्छ। तनहुँ, स्याङजा र नवलपुरमा बढी क्रिकेट प्रतिस्पर्धा हुन्छन्। तर एकैखाले जिल्ला छनोटमा मात्रै समावेश हुदैं आएको अवस्थाले कास्की कमजोर बन्दै गएको हो। ‘जबसम्म जुनियरलाई फोकस गर्न सकिदैन् तबसम्म क्रिकेटको विकास हुदैन्’ प्रशिक्षक प्रजु सुनाउँछन्।  

प्रकाशित: ३० पुस २०७९ ०८:४३ शनिबार

कास्की क्रिकेट