बुलावायो- सेन विलियम्सले पहिलो सतक पूरा गरे पनि जिम्बाब्वेले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट जोगाउन सकेनन्। जिम्बावे घरेलु मैदानमा आइतबार एक इनिङ र १ सय १७ रनले पराजित भयो।
आक्रमक ब्याटिङ गरेका विलियम्सले १ सय ४८ बलमा २१ चौका प्रहार गर्दै १ सय १९ रन बनाएका थिए। जिम्बावेले दोस्रो इनिङको चिया समय अघि २ सय ९५ रन बनाउँदा सबै विकेट गुमाए पछि न्युजिल्यान्डले शृखलामा १–० को अग्रता लियो। तिब्र गतिका बलर ट्रेन्ट बोल्टले ५२ रन दिएर ४ विकेट लिएका थिए।
‘हामीले संघर्ष गर्यौं। पहिलो इनिङपछि हामीले राम्रो बलिङ गर्न सकेनौं,’ जिम्बावेका कप्तान ग्रामी क्रेमरले भने, ‘डेसिङ रुममा सम्भवत हाम्रा दशौं खेलाडीको हालत नाजुक हुनसक्छ।’
जिम्बावे पहिलो इनिङमा १ सय ६४ रनमा अलआउट भएको थियो। घरेलु टोलीका कुनै पनि खेलाडीले अर्धसतक पूरा गर्न सकेका थिएनन्। पहिलो इनिङमा न्युजिल्यान्डका ३ ब्याट्म्यानले सतक पूरा गरेका थिए। भ्रमणकारी टोलीले ६ विकेट गुमाएर ५ सय ७६ को स्थितीमा इनिङ समाप्तीको घोषणा गरेको थियो। ४ सय १२ रनले पछि परेको जिम्बावे दोस्रो इनिङमा २ सय ९५ रनमा सिमित भएपछि फराकिलो पराजय स्विकार्न बाध्य भएको थियो।
१२१–५ को अवस्थामा दिनको खेल सुरु गरेको जिम्बावेले चौथो दिन छिट्टै विकेट गुमायो। जिम्बावेका क्रिग इर्भिन र विलियम्सले सातौ विकेटका लागि १ सय १८ रनको साझेदारी गर्दै आशा जगाए पनि त्यो पर्याप्त भएन। इर्भिनले पाँचौ विकेटका लागि सिकन्दर राजासँग ६९ रनको साझेदारी गरेका थिए।
इर्भिनले ६० बलमा ७ चौका प्रहार गर्दै ५० रन बनाएका थिए। त्यस्तै विलियम्सले १ सय ४८ बलमा १ सय १९ रन बनाए। सिकन्दर राजाले ३७ र क्रेमरले ३३ रन बनाए।
पहिलो इनिङमा कुनै विकेट लिन नसकेका ट्रेन्ट बोल्टले दोस्रो इनिङमा ४ विकेट लिए। न्युजिल्यान्डका नेल वागनरले ८ विकेट लिए। पहिलो इनिङमा ४१ रन दिएर ६ विकेट लिएका वागनरले दोस्रो इनिङमा ६२ रन दिएर २ विकेट लिए। टिम साउथीले पहिलो इनिङमा २ र दोस्रो इनिङमा २ विकेट लिए। पहिलो इनिङमा २ विकेट लिएका मिचेल सन्टनरले १ विकेट लिए।
‘टस हारेर पनि हामीले पहिलो इनिङमा उत्कृष्ट बलिङ गर्यो। जसले हामीले सहयोग गर्यौं,’ न्युजिल्यान्डका कप्तान विलियम्सले भने, ‘त्यसपछि हामीले जुन स्कोर खडा गर्यौं, त्यसले जिम्बावेमाथि दबाब सिर्जना गर्यो। अब हामी अर्को खेलमा केन्द्रित हुनेछौं।’
भ्रमणकारी टोलीका टोम लाथमले १ सय ५ रन बनाउँदा रोस टेलरले अविजत १ सय ७३ रनको योगदान गरे। त्यस्तै बिजे वाटलिङले १ सय ७ रन बनाए। कप्तान केन विलियम्सले ९१ रन बटुले। ओपनर मार्टिन गुप्टिलले ४० बनाए।
अन्तिम टेस्ट शनिबारबाट यही रंगशालामा हुनेछ।
प्रकाशित: १७ श्रावण २०७३ ०५:१९ सोमबार